भन्सार र अन्तःशुल्क घटेपछि टेस्लाका ५ नयाँ गाडी भित्रिए, मूल्य कति घट्यो ?



काठमाडौं । नेपालका लागि टेस्ला गाडीको आधिकारीक बिक्रेता अरित इन्टरनेसनलले १०० किलोवाट भन्दा बढी क्षमताका गाडीको भन्सार महसुल घटेपछि बीरगञ्ज भन्सारमा रहेका ५ वटा गाडी भित्र्याएको छ ।

अरित इन्टरनेसनलले गत साता मोडल थ्रि भेरियन्टका ३ र मोडल वाई लंग रेन्ज भेरियन्टका २ वटा नयाँ गाडी नेपाली बजारमा भित्र्याएको हो ।

विगतमा विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महशुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महशुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महशुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो ।

त्यसलाई ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशतमात्र भन्सार महशुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको थियो ।

बजारमा माग नभएपछि ६ महिना अगाडी बीरगञ्जस्थित सुख्खा बन्दरगाहामा थन्किएका गाडीहरु भन्सार महसुल घटेपछि कम्पनीले भित्र्याएको हो ।

कम्पनीसँग गत वर्षदेखि स्टकमा मोडल वाई स्ट्याण्डर्ड भेरियन्टको एउटामात्रै गाडी थियो ।

मोडल थ्रि भेरियन्टको गाडीमा भन्सार महसुल र अन्तःशुल्क करिब १० लाख ५० हजार घटेपनि कम्पनीले गाडीको बिक्री मुल्य २० लाख रुपैयाँले घटाएको छ । मोडल थ्रि भेरियन्टका गाडी १९८ किलोवाट क्षमताका हुन् ।

जेठ १५ गते बजेट भाषण हुनुभन्दा अगाडी कम्पनीले मोडल थ्रि भेरियन्टको बिक्री मुल्य १ करोड ५५ लाख रुपैयाँ तोकेकोमा हाल उक्त गाडीको बिक्री मुल्य १ करोड ३५ लाख तोकिएको छ ।

नेपाली बजारमा टेस्ला कम्पनीको मोडल थ्रि भेरियन्टका गाडी सबैभन्दा धेरै बिक्री भएका छन् । मोडल थ्रि भेरियन्टका गाडी सेडान सेग्मेन्टका हुन् ।

यस्तै, कम्पनीले मोडल वाई लङ रेन्ज भेरियन्टको मुल्य ४१ लाख रुपैयाँले घटाएको छ । मोडल वाई लंग रेन्ज भेरियन्टको गाडी २९८ किलोवाट क्षमताको छ ।

जेठ १५ भन्दा अगाडी उक्त गाडीको मुल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको हाल भन्सार महसुल र अन्तःशुल्क घटेसँग उक्त गाडीको मुल्य १ करोड ९९ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीले मोडल वाई स्ट्याण्डर्ड भेरियन्टको मुल्य पनि २६ लाख रुपैयाँले घटाएको छ । मोडल वाई स्ट्याण्डर्ड भेरियन्ट २०९ किलोवाट क्षमताको छ ।

बजेट भाषणभन्दा अगाडी मोडल वाई स्ट्याण्डर्ड भेरियन्टको मुल्य २ करोड १५ लाख रुपैयाँ भएकोमा हाल उक्त गाडीको मुल्य घटेर १ करोड ८९ लाख रुपैयाँ तोकिएको छ ।

मोडल वाईको लंग रेन्ज भेरियन्टमा गाडीहरु एसयुभी सेग्मेन्टका हुन् भने स्ट्याण्डर्ड भेरियन्टका गाडी गाडी सेडान सेग्मेन्टका हुन् ।

कम्पनीले विगतमा मोडल एक्स भेरियन्टका गाडी बिक्री गरेपनि अहिले पनि मोडल एस भेरियन्टका गाडी स्टकमा छैन् । यस्तै, कम्पनीले आगामी दिनमा बजारमा माग भए टेस्लाको मोडल एस भेरियन्टका गाडी भित्र्याउने योजना बनाएको छ ।

मोडल एस र मोडल एक्स ५९१ किलोवाट क्षमताका लक्जरी गाडी हुन् ।

मोडल एस सेडान सेग्मेन्टको गाडी हो भने मोडल एक्स एसयुभी सेग्मेन्टको गाडी हो । हाल नेपाली बजारमा ४ वटा मात्रै मोडल एक्स भेरियन्टको एसयुभी बिक्री भएको छ ।


क्लिकमान्डु