कार्की समूहमा जलविद्युत क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने टिम छ: इप्पान अध्यक्ष आचार्य



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ नेतृत्वका लागि हुन गइरहेको निर्वाचनका लागि सर्वसम्मत प्रयास गरे पनि नसकेको बताएका छन् ।

जेठ ३२ गते हुने निर्वाचनमा गणेश कार्की समूहको उम्मेदवारी घोषणा कार्यक्रममा इप्पानका अध्यक्ष आचार्यले निर्वाचन सर्वसम्मत गर्न खोजे पनि अन्तिममा नसकेको बताए । कार्यक्रममा कार्की समूह निकै खारिएको र जलविद्युत क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने टिम रहेको बताए ।

आफू अध्यक्ष भएको समयमा सबैलाई कार्यविभाजन गरेर काम गरेको स्मरण गर्दै यसअघि गरेको कामले यो समूहमा रहेकाहरु धेरै खारिएर आएको उनले बताए ।

अध्यक्ष आचार्यले चुनाव भए पनि सौहाद्रपूर्ण वातावरणमा हुनुपर्ने बताए । उनले उम्मेदवारी घोषणा गरे पनि अझै मिलेर जान सक्ने सम्भावना रहेको दाबी गरे । उर्जा उद्यमीले हजारौं माईलको यात्रा तय गर्न बाँकी रहेको भन्दै सबैलाई एक भएर अघि बढ्न सुझाव दिए ।

उर्जा उद्यमीले ७ वटा मन्त्रालय,२२ वटा विभागमा धाउनुपर्ने बाध्यता रहेको उनले बताए । कार्यक्रममा उनले यो समूह निकै खारिएको भन्दै जलविद्युत क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने खारिएको टिम रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुश कुमार जोशीले विभिन्न सन्धि सम्झौता एकोहोरो हस्ताक्षर मात्रै हुने गरेको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले १० हजार मेगावाट विद्युत किन्ने भनिएको भन्दै ईप्पानका सदस्यले उत्पादन गरेको विद्युत कति लैजान्छ भन्नेमा बढी ध्यान दिन आवश्यक रहेको बताए ।

अहिले उर्जा क्षेत्रमा वन, बिमा, धितोपत्र बोर्ड, विभिन्न मन्त्रालयबाट समस्या हुने गरेको भन्दै त्यो समस्या समाधान गर्न सबै एक हुनुपर्ने उनले बताए ।

जोशीले सबैलाई मिलेर जान आग्रह गरे । आफ्नो क्षेत्र, ब्यबसायलाई ब्यबस्थित बनाउन सबै एक हुन उनले सुझाव दिए ।

जलविद्युतमा लगानी ठूलो रहेको भन्दै उनले १५ प्रतिशतमा कर्जा लिएर लगानी गर्न नसकिने बताए । उनले धितोपत्र बोर्डले राखेको लकिङ अवधि राम्रो नभएको भन्दै त्यसलाई हटाउन पहल गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री उमेश श्रेष्ठले व्यवसायिक संस्थामा सर्वसम्मत भएर जान सुझाव दिए । उर्जा क्षेत्रमा धेरै समस्या रहेको भन्दै उनले यो समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताए ।

उनले ट्रान्समिसनमा फोकस गर्न नसकेको खन्डमा उर्जामा गरेको लगानी समस्यामा पर्ने बताए । ८ प्रतिशतको ब्याज अहिले १२ प्रतिशत पुगेको भन्दै यो अवस्थामा उर्जा उत्पादन बढ्दै गएको उनले बताए ।

ईप्पानमा अध्यक्ष बन्न १२ वर्ष लाग्ने गरेको भन्दै यो विधान संशोधन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले कार्की समूहलाई शुभकामना दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले इप्पानसँग सहकार्य गर्न चेम्बर तयार रहेको बताए । नेपाल बिप्रेषणमा बढी निर्भर रहेको भन्दै त्यसलाई कम गर्ने माध्यम उर्जा नै भएको उनले बताए बताए ।


क्लिकमान्डु