प्रधानमन्त्रीले देखाउन पशुपति दर्शन गरे, संविधान संशोधनको प्रस्तावमा अग्निपरीक्षा: लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दू राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए ।
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरुलाई देखाउनका लागि मात्रै प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेको बताए । उनले कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताए ।
उनले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दूराष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताए । उनले राप्रपाले उपयुक्त समयमा हिन्दू राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताए ।
‘हामी अत्यन्त खुशी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दू राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । त्योभन्दा खुशी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तरहृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन । नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ । अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रश्ताव ल्याउँछ, त्यसबेला प्रधानमन्त्रीको अग्नीपरीक्षा हुन्छ’ उनले भने ।
अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पारे । उनले हिन्दू राष्ट्र देशको लागि आवश्यक कुरा भएको बताए।