१ महिनाभित्र थप १ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको योजना



काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा अहिलेसम्म २ खर्ब ६९ अर्ब रुपैयाँ ऋण लिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ १९ गतेसम्म सरकारले २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक र ६६ अर्ब ३६ करोड रुपैयाँ बाह्य ऋण लिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने योजना बनाएको छ ।

वैशाख मसान्तसम्म १ खर्ब ५९ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले पछिल्लो १९ दिनमा मात्रै ४३ अर्ब रुपैयाँ ऋण लिएको हो ।

सरकारले देशभित्रका बैंक वित्तीय संस्थाका साथैं आम नागरिकलाई ऋणपत्र बिक्री गरेर लिने कर्जालाई आन्तरिक ऋण भन्ने गरिन्छ ।

गत माघमा चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमान सार्वजनिक गर्दा २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने योजना सार्वजनिक गरेको अर्थ मन्त्रालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएपछि चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार नै २ खर्ब ५६ अर्ब रुपैयाँ ऋण उठाउने भएका छ ।

अर्थ मन्त्रालयले आगामी १ महिनाभित्र थप ५४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।

पछिल्ला दिनहरुमा उच्च दरमा आन्तरिक ऋण लिइरहेको सरकारले निर्माण व्यवसायीको रकम भुक्तानीमा कन्जुस्याइँ गरेको छ ।

काम सम्पन्न भएका परियोजनामा भुक्तानी रोकेर सरकारले सञ्चित कोषको घाटा कम बनाइरहेको छ । चैत मसान्तमा १ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा रहेको सञ्चित कोष जेठ १९ गते १ खर्ब २ अर्ब रुपैयाँले घाटामा छ ।

जेठ १९ गतेसम्म सरकारले विभिन्न स्रोतबाट १० खर्ब १९ अर्ब रुपैयाँ आम्दानी गर्दा ११ अर्ब २१ अर्ब रुपैयाँ खर्च गरेको छ ।
जेठ १२ गते संघीय सरकारको सञ्चित कोष १ खर्ब ७ अर्ब रुपैयाँले घाटामा थियो ।

सरकारले विभिन्न स्रोतबाट गरेको आम्दानीभन्दा खर्च बढी भए सञ्चित कोष घाटामा जाने गर्छ ।

सरकारले जेठ १९ गते सम्म ६६ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य लिएको थियो ।

तर, हाल अर्थ मन्त्रालयले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक ऋण लिने संशोधित अनुमान गरेको छ ।

जेठ १९ गतेसम्म संशोधित लक्ष्यको ३९ प्रतिशत मात्रै वैदेशीक ऋण लिन सकेको सरकारले आगामी ३० दिनमा थप १ खर्ब ३ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने योजना बनाएको छ । सरकारले आन्तरिक र वैदेशिक गरि आगामी एक महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु आन्तरिक ऋण लक्ष्य अनुसार उठे पनि आगामी ३० दिन ३०/३५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण प्राप्त नहुने बताउँछन् ।

विभिन्न दातृ निकायले वैदेशिक ऋण दिने प्रतिवद्धता व्यक्त गरेपनि नेपाल सरकारले परियोजनामा पुँजीगत खर्च गर्न नसकेकाले वैदेशिक सहयोग परिचालन हुन सकेको छैन ।

चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक सहयोग लिने योजना बनाएको सरकारले जेठ १९ गतेसम्म १४ अर्ब ८३ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ ।

सरकारले हाल ३८ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक सहयोग लिने संशोधित अनुमान बनाएको छ ।

हालसम्म लक्ष्यको २७ प्रतिशत मात्रै वैदेशिक सहयोग परिचालन भएको अवस्थामा आगामी दिनमा संशोधित लक्ष्यबराबर वैदेशिक सहयोग परिचालन हुने सम्भावना नरहेको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु