टेस्लाले भारतमा सुरु गर्दै विद्युतीय गाडीको उत्पादन



काठमाडौं । विश्वभरमा चर्चित विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाले भारतमा छिट्टै नै आफ्नो उत्पादन सुर गर्ने भएको छ । अर्बपति एलन मस्कको कम्पनी टेस्लाले भारतमा बिक्रेताहरूका लागि उत्पादन सुरु गर्नेमा सहमति जनाएको हो ।

मिडिया रिपोर्टकाअनुसार भारतको केन्द्रीय सरकारसँगको छलफलपछि कम्पनीले भारतमा आफ्ना विद्युतीय गाडीहरूको एसेम्बली सुरु गर्नेछ । यसका लागि सबैभन्दा सुरुवातमा ‘भेन्डर बेस’ स्थापना गरिनेछ ।

हाल टेस्लाका आधाभन्दा धेरै उत्पादन चीनमा भइरहेको छ । तर, कम्पनीले पछिल्लो समयमा चीनको व्यापार नीतिलगायतका कारणले आफ्नो उत्पादनलाई विकेन्द्रित गर्ने प्रयास गरिरहेको छ ।

मिडिया रिपोर्टकाअनुसार भारतको केन्द्रीय सरकारसँग टेस्लाका प्रतिनिधिहरूले १७ मेमा भारतका अधिकारीहरूसँग बैठक बसेका थिए । यो बैठकमा भारतमा नै आफ्ना विद्युतीय गाडीहरूको निर्माणका लागि उत्पादन कारखाना खोल्ने इच्छा रहेको टेस्लाका प्रतिनिधिहरूले जनाउका थिए । केन्द्रीय सरकारका अधिकारीहरूले स्वदेशी बिक्रेताहरूका लागि कारखाना स्थापनाका लागि आफूहरू तयार रहेको जनाउँदै यसका लागि टेस्लाले निश्चित समय र मिति तोकेर भन्नुपर्ने बताएका थिए ।

भारतीय सरकारले हाल टेस्लाका लागि कुनै पनि किसिमको विशेष प्रोत्साहन दिने हो वा होइन भन्ने कुरा बाहिरिएको छैन । तर, केही सञ्चारमाध्यमहरूले भने सरकारले टेस्लालाई प्रोत्साहनका लागि कुनै पनि विशेष सुविधा दिनका लागि अस्वीकार गरेको बताएका छन् । तर, राज्य सरकारले पनि यस्ता उद्योगहरूलाई विशेष किसिमको सुविधा दिने अनुमति भएकाले टेस्लाले आफ्नो कारखाना स्थापना गर्ने क्षेत्रको राज्य सरकारले कुनै किसिमको सुविधा दिने हो कि भन्ने आशा रहेको छ ।

यो बाहेक भारत सरकारले टेस्लालाई आफ्नो वितरण प्रणाली स्थापना गर्नका लागि आफ्नो आवश्यक सामग्री आयातमा भने सहुलियत दिने भएको छ ।

भारत सरकारले एप्पललाई पनि यसअघि उत्पादनसँग जोडिएका विषयहरूमा सहुलियत दिएको थियो । टेस्लालाई पनि भारतमा वितरण प्रणाली स्थापित गर्नका लागि समय सीमाको विषयमा एउटा रोडम्याप तयार गरेर प्रस्तुत गर्न भनेको छ । टेस्लाले सरकार समक्ष यो रिपोर्ट ३ देखि ६ महिनामा प्रस्तुत गर्ने बताइएको छ ।

पछिल्ला दिनहरूमा टेस्ला कम्पनीका मालिक एलन मस्कले भारततर्फ बढी नै झुकाव राखेको देखिएको छ । हालै उनले आफूलाई भारतीय खाना मन पर्ने र विशेष गरि नान र बटर चिकेन खान रुचाउने बताएका थिए ।

मिडिया रिपोर्टकाअनुसार उनले भारतका प्रधानमन्त्री मोदीलाई ट्विटरमा पनि फलो गरेका छन् । यो बाहेक भारत हाल सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र यहाँको अर्थतन्त्र तीव्र गतिमा बढिरहेको छ ।

यसबारे मस्कले ‘डेमोग्राफिक्स इज डेस्टिनी’ भनेका थिए । यसले पनि मस्क आफ्ना गाडीहरूको बजार विस्तार र उत्पादनलाई नै भारततर्फ सिफ्ट गर्न खोजेको देखिएको छ ।


क्लिकमान्डु