२० अर्ब १२ करोड लागतमा १३२ मेगावाट क्षमताको तल्लो वरुण हाइड्रोपावर बन्दै



काठमाडौं । कोशी प्रदेशस्थित संखुवासभाको भोटखोला गाउँपालिकामा १३२ मेगावाट क्षमताको तल्लो वरुण जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले भोटखोला गाउँपालिकामा रहेको वरुण खोलाको पानी उपयोग गर्दै १३२ मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्न लागेको जनाएको छ ।

यो आयोजनाको निर्माण गर्न एम्पिक इनर्जी कम्पनीले विभागमा दरखास्त दिएको हो । नदी बहावमा आधारित आयोजनाको जडित क्षमता १३२ मेगावाट तथा वार्षिक सरदर ४९४.४८२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

विद्युत उत्पादनका लागि निर्माण हुने बाँध स्थलबाट प्रत्येक महिना नदीको बहावको ५० प्रतिशत पानी छाड्ने प्रस्ताव गरिएको आयोजनाको ग्रसहेड ८५३ मिटरको रहेको छ ।

वरुण खोलाको पानी फर्काउनका लागि खोलामा २० मिटर चौडाइ र ५ मिटर उचाइ भएको बाँध निर्माण गरिनेछ ।

आयोजना निर्माणका लागि ५ वर्षको समय लाग्ने बताइएको छ । अनुमानित लागत २० अर्ब १२ करोड ८७ लाख रुपैयाँमा यो आयोजना निर्माण गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युतलाई १.७३३ किमी लामो २२० केभीको प्रसारण लाइनमार्फत माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिने छ ।


क्लिकमान्डु