ओलीको प्रश्न: गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै व्यापारीको हित हुने गरी गाँजा खेतीको अनुमति दिन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

अहिले मानिसहरुले त्यसबारे थाहा नपाएको भन्दै ओलीले केही व्यापारी गाँजा खेतीको पछाडि कुदिरहेको बताए ।

‘कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? गाँजा खेती कसका लागि चाहियो ? कसैले गर्न खोजेको छ गाँजा खेती’ ओलीले ‍मंगलबार प्रतिनिधि सभा बैठकमा भने, ‘अहिले मान्छेलाई दृष्टि गोचर भएको छैन तर कोही मान्छे छ गाँजा खेतीको पछाडि लागिरहेका छन् । ‘

कतिपयले गाउँमा गाँजा खेती भइरहेको र कतिपयको जीविका चलेको सोचे पनि अहिले सरकारले गर्न खोजेको नियन्त्रित गाँजा खेती भएको ओलीको भनाइ छ ।

‘कतिपय सांसदलाई परेको छ हाम्रो गाउँमा गाँजा खेती छ, यसले कतिपयको जीविका चलेको छ । यो त नियन्त्रित नियोजित गाँजा खेतीको कुरा गरेको हो’ ओलीले भने, ‘यो चलेपछि चलाउनेले सरकारसँग माग गर्छ, लाइसेन्स नलिएको अनधिकृत गाँजा खेती गर्न पाइँदैन भनेर । अनि ति बिरुवा गाउँ गाउँमा गएर उखेलिन्छन् ।’

गाँजा खेतीको बिरोध गर्दा गरिबमाथि मर्का पर्ने उनको भनाइ छ ।

‘खेती कहाँ गरेको छ ? जनताले । केही केहीले गरेको होला । तर आम रुपमा खेती होइन, आम रुपमा त्यतिकै उम्रिएको गाँजाबाट जीविका चलाएका छन् । त्यो यत्तिकै उम्रिएको गाँजाले जीविका चलायो भने त्यो झ्यालखाना जान्छ’ उनले भने ।

लाइसेन्स लिएर सरकारको रेखदेखमा गाँजा खेती भनेको कुनै व्यवसायीका लागि भएको उनको भनाइ छ । उनले गाँजाको विउँ लिएर कुनै व्यापारी बसिरहेको बताए ।

‘लाइसेन्स लिएर ओषधिका लागि सरकारको रेखदेखमा भनेको कुनै व्यवसायी (पहिला गरेको भए अनुहार अघि आउँथ्यो होला अहिले अनुहार नै आउँदैन) अगाडि को छ को छ । गाँजाको विउँ लिएर बसेको व्यापारी को हो? अनौठो छ’ उनले भने ।


क्लिकमान्डु