अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न- देशमा एचएस कोडको विज्ञ एक-दुई जना मात्रै छन् ?



काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले देशमा एचएस कोडको विज्ञ एक जना वा दुई जना मात्रै भएको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा डा. वाग्लेले पछिल्ला दिनमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्ने विषय सार्वजनिक भएको कुरालाई उल्लेख गर्दै अर्थमन्त्रीसामु तीनवटा प्रश्न गरेका हुन् ।

वाग्लेले अर्थमन्त्रीलाई यो वर्ष पनि षड्यन्त्रमूलक ढंगले निश्चित घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करको दरमा हेरफेर गरिएको छ कि छैन भनेर प्रश्न गरेका छन् । उनले एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रकृया पुर्‍याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन र ३०-३० वर्षसम्म ३ करोड जनसंख्या भएको देशमा एचएस कोडको दर टाइप गर्न सक्ने जनशक्तिको आकार एक वा दुई जना मात्रै रहेको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘अर्थमन्त्रीको प्रस्टीकरणमा यी तीन उत्तर आउन् भन्ने मेरो आग्रह छ,’ वाग्लेले भने, ‘एक, यो वर्ष षड्यन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेरि गरिएको छ कि छैन ? दुई, एचएस कोड हार्मोनाइज्ड सिस्टमको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन ? र तीन, ३०-३० वर्षसम्म ३ करोड जनसंख्या भएको देशमा एचएस कोडका दरहरु टाइप गर्न सक्ने जनशक्तिको आकार के एक जना वा दुई जना मात्रै हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ (वर्ल्ड कस्टम अर्गनाइजेसन) नामक अन्तर्राष्ट्रिय संस्थाका अन्तर्राष्ट्रिय स्टेन्ड्रेड, मानक र मेथोडोलोजी अवलम्बन गर्न सक्ने सयौं जनाको प्रोफेसनल कार्डर बनाउन यो वर्ष अर्थमन्त्रीको इमानदार पहल होला कि नहोला ?’

आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको र निश्चित व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरिएको भन्ने विषयमा समाचारहरु प्रकाशित भएका थिए । मंगलबारको प्रतिनिधिसभाको बैठकमा वाग्लेले गत वर्षजस्तै यो वर्ष नहोस् भन्ने सोचेर आफूहरुले रचनात्मक रुपमा अर्थमन्त्रीलाई सचेत पनि गराउँदै आएको बताए । तर आफूहरुलाई प्रकाशित समाचारले झस्काएको उनले बताएका छन् ।

‘गत वर्षको बजेट निर्माण प्रक्रियामा निश्चित स्वार्थ समूहहरुको डिजाइनमा करका दरहरुको अवैज्ञानिक हेरफेर गरी अभूतपूर्व नीतिगत कब्जा र भ्रष्टाचार गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा नै दिनु परेको थियो,’ उनले भने, ‘यस वर्ष त्यस्तो नहोस् । त्यो कलंक नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको छ । अर्थसमितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग नीतिगत भ्रष्टाचारबारे सवाल-जवाफ भएकै हो ।’

तर, यति हुँदाहुँदै पनि आगामी आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको विषय सार्वजनिक हुँदा आफूहरु झस्किएको वाग्लेले बताए ।

उनले भने, ‘यस्तो डरलाग्दो पृष्ठभूमिमा हिजो प्रकाशित एउटा समाचार र सम्पादकीयले हामीलाई झस्काएको छ । स्पन्ज र बिलेड, स्टिल र इलेक्ट्रिक भेइकलदेखि आलु, प्याजसम्मका विवाद आएकै छन् । के यस वर्ष पनि अनधिकृत व्यक्तिको प्रवेश भएको हो बजेट निर्माणमा भन्ने प्रश्नको प्रारम्भिक छानबिन हाम्रो पार्टीले गर्दा एउटा अर्को दाबी पनि आएको छ । हार्मोनाइज सिस्टम, हार्मोनाइज्ड कमोडिटी डिस्क्रिप्सन एन्ड कोडिङ सिस्टम (एसएस कोड)का एक जना विज्ञलाई संलग्न गराइएको भनेको दाबी बाहिर आएको छ । हजारौं भन्सारका कोड र नोमेन क्लेचरको जटिलता, व्यापकता र महत्व हामी बुझ्छौं र हाम्रो पार्टीले बुझ्छ । तर, यही जटिलताले गर्दा त्यहाँ खेल्ने ठाउँ हुन्छ । अंकहरु बढाउने र घटाउने गरिन्छ । धेरैलाई यसको जानकारी र चासो नै हुने गर्दैन ।’

सँगै उनले बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्‍याएजस्तो गरेर नियमावलीहरु नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङ हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैं सल्किएको भन्दै यसविरुद्ध आफूहरु उभिएको पनि बताए ।


क्लिकमान्डु