विश्व वातावरण दिवसका अवसरमा सिद्धार्थ बैंकद्वारा सातै प्रदेशमा कार्यक्रम



काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसका अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

दिवसको अवसरमा विभिन्न स्थानमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुन: प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रम आयोजना गरेको थियो, जसमा बैंकका कर्मचारीको उल्लेख्य सहभागिता थियो ।

बैंकले वृक्षारोपण तथा सरसफाइ कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवा रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । यस्ता कार्यक्रमले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने बैंकको विश्वास छ ।

बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्बन गर्दै आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखेर वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता पनि गरेको छ ।

यही नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुन: प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखामार्फत वितरण गरेको थियो । वातावरण संरक्षणलाई थप टेवा पुर्‍याउन बैंकले सो दिनलाई ‘नो प्रिन्ट डे’ पनि घोषणा गरेको थियो ।

सिद्धार्थ बैंकले देशभरका १९५ शाखा, २२० एटीएम र ५ एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु