गभर्नरले गरे बजेटको प्रशंसा, कार्यान्वयनमा सघाउने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने उनले प्रतिबद्धता जनाए ।

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । ‘यो वर्ष राजस्वमा परेको दबाब न्यूनीकरण गर्न धेरै काम भएको छ,’ इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)ले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यसपटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको छ ।’

बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा रिस्ट्रक्चर गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न विशिष्टीकृत निकाय खोल्ने विषय पनि बजेटमा समावेश भएको भन्दै प्रशंसा गरे । ‘बजेटमा यस्ता धेरै सुधारका काम भएका छन्,’ गभर्नर अधिकारीले भने, ‘सरकारी संरचना मर्जरमा जाने र खारेजी गर्ने जस्ता सुधारको योजना पनि बजेटमा छन् । यो राम्रो पक्ष हो ।’

बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य भने पूरा हुन गाह्रो हुने उनको भनाइ छ । ‘तर त्यसलाई सहयोग हुने गरी मौद्रिक नीति आउँछ, सरकारले लिएको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउँछौं ।’ राष्ट्र बैंकले त्यसैअनुसार सुझाव मागेको पनि गभर्नर अधिकारीले बताए ।


क्लिकमान्डु