सिद्धार्थ ग्रुपले ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गर्दै, कति पर्छ मूल्य ?



काठमाडौं । सिद्धार्थ ग्रुपले चोभारमा ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गरिरहेको छ । कम्पनीले कोलोनी निर्माणका साथै जग्गा बिक्री गरिरहेको छ ।

विभिन्न सेवा सुविधासहित कोलोनी विस्तार गरिरहेको कम्पनीका बजार प्रबन्धक सागर कटुवालले बताए । उनकाअनुसार कम्पनीको लगानीमा करिब ४७ रोपनी क्षेत्रफलमा कोलोनी विस्तारसँगै जग्गा बिक्री भइरहेको हो ।

कम्पनीले हालसम्ममा २४ वटा घरहरु निर्माण गरिसकेको छ । उक्त घरहरु ४ आनादेखि ६ आनासम्म निर्माण भएको कटुवालले जानकारी दिए । कम्पनीले चोभारमा पाँच प्रकारका घर निर्माण गरेका छ । कम्पनीले टाइप ए, बी, सी, डी र ई प्रकारका घरहरु निर्माण गरेको हो ।

टाइप ‘ए’ का घरहरु ४.४७१ आनादेखि ५.३६५ आनामा साढे दुई तल्ला निर्माण गरेको कम्पनीले जनाएको छ ।

टाइप ‘बी’ का घरहरु ५.०२७ आनादेखि ६.८९६ आनामा निर्माण भएका छन् । साथै, टाइप ‘सी’ का घरहरु ४.११ देखि ५.०५३१ आना, टाइप ‘डी’ को घरहरु ३.८९१ आना र टाइप ‘ई’ ७.९०१ आनामा निर्माण भएका छन् ।

‘निर्माण गरेको घरहरुको छुट्टाछुट्टै क्षेत्रफल र स्क्यारफिटमा निर्माण भएका छन् । त्यसैले, कम्पनीले सोहीअनुसार घरहरुको मूल्य तोकेको छ,’ उनले क्लिकमान्डुसँग भने ।

कम्पनीले अहिले प्रतिघर १५ लाख रुपैयाँ छुट प्रदान गरेको कटुवालको भनाइ छ । अहिले न्यूनतम २ करोड ५५ लाख रुपैयाँदेखि ४ करोड ३५ लाख रुपैयाँसम्म ग्राहकले घर किन्न सक्ने उनले बताए ।

कम्पनीले ४ आनादेखि ८ आनासम्मको घरहरुको मूल्य क्षेत्रफल र स्थानको आधारमा छुट्टाछुट्टै तोकेको हुनाले ग्राहकले आफ्नो रोजाइअनुसार घर खरिद गर्न सक्नेछन् । सबै घरहरु फोरबीचकेका छन् ।

‘हालसम्ममा ५ वटा घरहरु बिक्री भइसकेका छन् । बाँकी घरहरु आफ्नो इच्छुकअनुसार ग्राहकले खरिद गर्न सक्नेछन्,’ उनले भने ।

त्यस्तै, कम्पनीले २४ वटा घर निर्माण गरिसकेको छ भने बाँकी जग्गाको क्षेत्रफल प्लटमा बिक्री गरिरहेको छ ।

कम्पनीले आफ्नै लगानीमा २४ वटा घर बनाएको र बाँकी जग्गाको क्षेत्रफलमा ग्राहकले प्लट खरिद गरी घर बनाउन सक्ने कटुवालले बताए ।

ग्राहकले खरिद गरेको जग्गामा आफ्नो इच्छाअनुसार घर बनाउन सक्ने छन् । त्यसका लागि ४ आनामाथि जग्गाको क्षेत्रफल छुट्टाइएको उनले जनाकारी दिए । ‘जलविनायक कोलोनीभित्र बस्न चाहेनेहरुका लागि कम्पनीले जग्गा उपलब्ध गराउने छ,’ उनले भने, ‘जग्गा खरिदपछि उहाँहरुले आफ्नो तरिकाले घर बनाउन सक्नु हुन्छ ।’

कोलोनी तयार गरिसकेपछि सबै एउटै घर हुनु पर्ने मान्यता छ । तर, जलविनायकले भने आफूले घर बनाएको बाहेकको जग्गामा ग्राहकले आफ्नो डिजाइनअनुसार घर बनाउन सक्ने जनाएको छ ।

कम्पनीले विकास गरेको जग्गाको मूल्य प्रतिआना २५ लाखदेखि २८ लाख रुपैयाँ तोकेको उनले जानकारी दिए । हालसम्ममा तयार पारिएको प्लटमा ७५ प्रतिशत भने बिक्री भइसकेको उनको भनाइ छ ।

कम्पनीले ४७ रोपनीमा एकीकृत वस्ती विकासमा जोड दिएको छ । त्यसमा करिब ३७ प्रतिशत जग्गा खुला क्षेत्र छोडिएको उनले उल्लेख गरे । ‘कुनै पनि परिवारलाई रमाइलो, भोज, चाडपर्व गर्न इच्छा हुनेहरुका लागि कम्पनीले खुला ठाउँको व्यवस्था गरेको छ । उक्त खुला ठाउँ भने सबैको साँझा हुनेछ,’ उनले भने ।

त्यस्तै, कम्पनीले विकास गरेको कोलोनीमा सरकारले तोकेको मापदण्डअनुसार सडकको व्यवस्था गरेको छ । त्यसमा ३५ प्रतिशत जग्गा बाटो तथा सडकले ओगटेको उनले बताए ।


क्लिकमान्डु