१ करोड १६ लाख पर्ने हुन्डाई आयोनिक अब १ करोड ३ लाखमै, कोनाको तत्काल नबढ्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधनमा कर घटाएपछि कम्पनीहरुले गाडीको मूल्य घटाएका छन् ।

गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिका विद्युतीय सवारी साधनको आयातमा कर घटाएको थियो। सरकारले १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधनको आयातमा भन्सार घटाएपछि हुन्डाईको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक फाइभको मूल्य घटाएको छ ।

सरकारले यसअघि १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत भन्सार महशुल लाग्ने बनाएको थियो । तर, यो वर्ष घटाएर २० प्रतिशतमात्रै कायम गरेको छ । साथै, सरकारले अन्तशुल्क पनि घटाएको छ । सरकारले ३० प्रतिशत लाग्दै आएको अन्तशुल्क घटाएर २० प्रतिश कायम गरेको छ । जसले गर्दा गाडीको मूल्य घटेको हो ।

कम्पनीले बजेट घोषणा हुनु अघिसम्म १ करोड १६ लाख रुपैयाँमा बिक्री गरेको थियो । तर, बजेट घोषणामा कर घटाएपछि कम्पनीले १३ लाख रुपैयाँसम्म मूल्य घटेको कम्पनीका निर्देशक निराकर श्रेष्ठले बताए ।

कम्पनीसँग अहिले १८ वटा गाडीहरु उपलब्ध छन् । उक्त सम्पूर्ण गाडीहरुको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता आएको उनले बताए । त्यस्तै, अब आइकोनिक फाइभको गाडी अब १ करोड ३ लाख रुपैयाँमा पाउने उनले जानकारी दिए ।

‘कम्पनीहरुले बजेट आउनुअघि गाडीहरु भित्र्याएका थिए । उक्त भित्रिएका गाडीहरु महंगो भन्सार तिरेर ल्याएका थिए । तर, ग्राहकलाई बिक्री गर्दा महंगो भन्सार तिरेर ल्याएको हो भनेर बेच्न मिल्दैन,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यसैले कम्पनीले आयोनिक फाइभको मूल्य घटाएको हो ।’

श्रेष्ठकाअनुसार कम्पनीले एउटै गाडीमा उच्च मूल्य घटाएर बेच्दा नाफा पनि नबस्ने भएको छ । साथै, कम्पनीले अब नयाँ लट आएपछि मात्रै नाफा कमाउन सक्ने उनको भनाइ छ ।

हुन्डाई आयोनिक गाडी १२५ किलोवाट क्षमताको मोटर क्षमताको हो ।

त्यस्तै, कम्पनीको कोना ब्रान्डको विद्युतीय गाडीको मूल्य भने बढ्ने भएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीको आयातमा भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाएको छ । भन्सार दर बढाएपछि कम्पनीले नयाँ आउने गाडीको मूल्य बढेर आउने उनको भनाइ छ । तर, बजेटअघि बुकिङ भइसकेको गाडीको मूल्य भने नबढ्ने उनले बताए ।

कम्पनीसँग अहिले कोना ब्रान्डको करिब ७० वटा गाडी उपलब्ध छन् । ग्राहकहरुले पुरानो नै मूल्यमा कोना ब्रान्डको गाडी खरिद गर्न सक्ने उनको बताए ।


क्लिकमान्डु