नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन



काठमाडौं । कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको क्रमविकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) पेमेन्ट कार्ड इन्ड्रस्ट्रि सेक्युरिटी स्ट्यान्डर्ड काउन्सिल (पीसीआई एसएससी) को सल्लाहकार समितिमा चयन भएको छ ।

भिसा मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआईडीएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन् । कार्डमार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोवारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको सल्लाहकार समितिमा चयन भएकोमा गौरवान्तित भएको नेप्सले जनाएको छ ।


सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउन नेतृत्व गर्छन् । सल्लाहकार समितिको सन् २०२३-२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो । यसका लागि २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । जुन १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित भएको कम्पनीले जनाएको छ ।

मनोनित भएसँगै, नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, बार्सालेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल , एचडीएफसी बैंक, आईबीएम , जेपी मोरगन , एनपीसीआई, एस बैंक, माइक्रोसफ्ट जस्ता अन्तर्राष्ट्रियरुफमा ख्यातीप्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान-प्रदान गर्ने कम्पनीले जनाएको छ ।


“यो हाम्रो लागि गौरवको विषय हो र यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ । साथै, पीसीआई एसएससीको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, र अनुभवको योगदान गर्न नेप्स तयार र आतुर पनि रहेको छ । साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लियका छौँ’ प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले भने ।


यसअघिनै नेप्स नेपालबाट पीसीआई एसएससीको एसोसिएट पार्टिसिपेटिङ अर्गनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो । अहिले सल्लाहकार समितिमै चयन भएर सिङ्गो नेपाललाई नै कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरु निर्धारण गर्ने अन्तर्राष्ट्रिय समितिमा सम्पूर्ण नेपाललाईनै प्रतिनिधित्व गर्ने अवसर नेप्सले सिङ्गो राष्ट्रलाईनै प्रदान गरेको उनले जनाए । यसका साथै, कार्डमार्फत हुने कारोवारको सुरक्षा नै नेप्सको पहिलो प्राथमिकता पनि रहेको कम्पनीले जनाएको छ ।

यसले नेप्सको कार्डमार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि व्यवस्थालाई समयनुसार परिमार्जन गरि सुरक्षित कारोवार संचलानको यकिन गर्न टेवा पुग्नेछ, र नेपालमा रहेका अन्य संस्थाहरुलाई पनि उचित मार्गदर्शन प्रदान गर्न कोशेढुंगा सावित हुनेछ विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु