नेपाल र भारतबीच यसरी हुन्छ अन्तरदेशीय भुक्तानी कारोबार
काठमाडौं । एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपाल बीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयू भएको छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदानप्रदान भएको हो ।
आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फन्ड ट्रान्सफर एवं भुक्तानीलाई सहज बनाउँदै दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबारलाई थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य छ ।
प्रारम्भिक चरणमा भारत र नेपालका बैंकबीच इनवार्ड र आउटवार्ड ट्रान्सफरका लागि आवश्यक व्यवस्था मिलाउन भारतको यूपीआई र नेपालको एनपीआईबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानललाई सबलीकरण गरिनेछ ।
यसपछि क्रमशः मर्चेन्ट पेमेन्टलगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइनेछ । दुई देशबीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडेर क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुंगाको रूपमा लिइएको छ ।
यूपीआई विश्वको सबैभन्दा इनोभेटिभ र एड्भान्स भुक्तानी पूर्वाधारमध्ये एक हो । यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त एमओयूको आधारमा एनसीएचएल र एनआईपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालनसम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन् ।
साथै, कारोबारको प्रकार र आवश्यकताअनुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागू गरिने एनसीएचएलले जनाएको छ ।
एनआईपीएल नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ ।
भारतीय रिजर्ब बैंक र भारतीय बैंक संघको पहलमा स्थापना भएको एनपीसीआई भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता संगठन हो । यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आएको छ ।
त्यसैगरी, एनसीएचएल नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाको सहभागितामा स्थापना भएको कम्पनी हो । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफका प्रणाली स्थापना तथा सञ्चालन गर्दै आएको यस कम्पनीले हाल नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच सञ्चालन गरी विभिन्न च्यानल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै एनपीएसअन्तर्गत डोमेस्टिक कार्ड स्किम पनि कार्यान्वयनको क्रममा छ ।