कांग्रेसकै अर्थमन्त्री हुँदा पनि विनोद चौधरीका उत्पादनमाथि करको भारी



काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत् विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । केहि वस्तुको भन्सारदर र अन्तःशुल्क बढाइएको छ भने केहि बस्तुको घटाइएको छ ।

आर्थिक विधेयकमार्फत् करका दरमा हेरफेर गरिनु स्वाभाविक हो । तर, राजनीति गर्ने व्यवसायीहरुले बजेटमार्फत् आफूलाई फाइदा हुने गरी करका दरहरु हेरफेर गर्ने गरेको आरोप लाग्दै आएको छ । यस अर्थमा आर्थिक वर्ष २०८०र८१ को बजेटमा कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौधरीलाई लाभ पुग्ने गरी करका दर हेरफेर गरिने आँकलन गरिएको थियो । किनभने, कांग्रेस केन्द्रिय सदस्य डा. प्रकाशशरण महत अर्थमन्त्री छन् ।

तर, यस वर्ष परिवर्तन गरिएका करका दरहरुले सम्भवतः सबैभन्दा असर विनोद चौधरी र उनको कम्पनी चौधरी ग्रुपमाथि पर्ने देखिएको छ । किनभने भन्सारदर र अन्तःशुल्क बढाइएका प्रायः वस्तुहरु चौधरी ग्रुपसँग सम्बन्धित देखिन्छन् ।

सरकारले यस पटक नूडल्स (चाउचाउ)मा प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा वृद्धि गरि प्रतिकिलो २० रुपैयाँ पु¥याएको छ । यसको प्रत्यक्ष असर चाउचाउ उद्योगमा पर्नेछ भने चौधरी ग्रुप सबैभन्दा बढि प्रभावित हुनेछ । चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो जसले नेपालको चाउचाउ बजारमा एकछत्र राज छ । नूडल्समा कर बृद्धि गर्दा चौधरीको वाइवाइमाथि ठूलो दवाव परेको छ । सोही दरमा कुरकुरे, कुरमुरे, लेज, चिजवल्समा पनि अन्तःशुल्क बढेको छ । यी उत्पादनमा चौधरी ग्रुपको शसक्त उपस्थिति छ ।

सरकारले वियरमालाग्ने अन्तःशुल्क प्रतिलिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पु¥याएको छ । नेपाली ब्राण्डको सर्वाधिक लोकप्रिय बियर नेपाल आईस चौधरी ग्रुपको उत्पादन हो । करका दरमा वृद्धि हुँदा यसको भार पनि विनोद चौधरीकै उद्योगमाथि परेको छ ।

चौधरी ग्रुप पछिल्लो समयमा इलेक्ट्रिक भेइकलको कारोबारमा संलग्न भएको छ । बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महशुल पनि वृद्धि गर्दा विद्युतीय सवारी व्यापारमा प्रवेश गरेको चौधरी ग्रुपलाई असर पर्ने देखिन्छ । सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमालाग्दै आएको भन्सार महशुल १ प्रतिशतबाट बढाएर १० प्रतिशतकायम गरेको छ ।

उता, सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पु¥याएको छ जसको असर पनि चौधरी ग्रुपद्वारा उत्पादित एवं बिक्रीवितरण हुँदै आएका रियो लगायतका जुसहरुमा पर्ने देखिन्छ ।

विनोद चौधरी नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन् । र, नेपालका एक्ला अर्बपति समेत । यसपटकको बजेट पार्टीभित्र एउटै समूहमा रहेका अर्थमन्त्री डा. प्रकाशसरण महतले बनाएका हुन् । आफ्नै पार्टीको सरकारका अर्थमन्त्रीले ल्याएको बजेटको भारी भने चौधरीमाथि परेको छ ।


क्लिकमान्डु