विद्युतीय सवारीमा १०० देखि २०० किलोवाटमा कर घट्यो, ५० देखि १०० किलोवाट बढ्यो



काठमाडौं । विद्युतीय सवारी साधनमा यो वर्ष पनि करको भन्सार दर र अन्तशुल्क दर हेरफेर भएको छ ।

वर्ष तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तशुल्क बढाएको थियो । तर, यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाट भन्दा बढी क्षमताका गाडीमा भन्सार दर र अन्तशुल्क घटाएको छ ।

सरकारले गत वर्ष १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सारबाहेक अन्य शुल्क नलाग्ने व्यवस्था गरेको थियो । यो वर्ष भने ५० किलोवाट सम्मको क्षमताको सवारीले मात्रै उक्त सुविधा पाएका छन् । गत वर्ष ० देखि १०० किलोवाट सम्मका गाडीलाई एउटै भन्सार दर भएकोमा यो वर्ष ०-५० सम्मलाई १० प्रतिशत र ५० देखि १०० किलोवाट क्षमताका गाडीको भन्सार महसुस १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाएको छ ।

सरकारले १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा छुट दिँदा करिब १० महिनाको अवधिमा करिब ३ हजारको हाराहारीमा विद्युतीय सवारी साधनको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यो वर्ष ५० देखी १०० किलोवाट सम्मका गाडीमा भन्सार महसुस ५ प्रतिशत वृद्धि भएको छ । सरकारले यो वर्ष ० देखि ५० किलोवाट क्षमताका गाडीमा अन्तशुल्क छुट दिँदा ५० देखि १०० किलोवाट क्षमताका गाडीमा १० प्रतिशत अन्तशुल्क लिएको छ ।

५ प्रतिशत भन्सार वृद्धि हुँदा मूल्य अभिवृद्धि कर सहित ५.६५ प्रतिशत लागत बढ्छ ।

तर, १०० किलोवाटबाहेक अन्य विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार दर भने घटेको छ । गत वर्ष सरकारले १०० किलोवाटभन्दा माथिको विद्युतीय सवारी साधनको आयातलाई निरुत्साहित गरेको थियो ।

सरकारले १०० किलोवाटभन्दा माथिका विद्युतीय सवारी साधनमा बढाएको भन्सार दर र अन्तशुल्कले गर्दा उक्त प्रकारका गाडी आयात हुन छोडेको थियो । त्यस्तै, सरकारले गत वर्ष बढाएको भन्सार दर र अन्तशुल्क ह्वात्तै घटाएको छ ।

सरकारले गत वर्ष १०० किलोवाटभन्दा बढीको तर २०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार महसुल ३० प्रतिशत कायम गरेको थियो । यो वर्ष प्रचण्ड र महतले घटाएर भन्सार दर २० प्रतिशत बनाएको छ ।

सरकारले यो वर्ष अन्तशुल्क पनि घटाएको छ । गत वर्ष उक्त सवारी साधनको अन्तशुल्क ३० प्रतिशत तोकेको थियो । सरकारले यो वर्ष १० प्रतिशतले घटाएर २० प्रतिशत मात्रै कायम गरेको छ ।

गत वर्ष २०० किलोवाटभन्दा बढीको तर ३०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार दर ४५ प्रतिशत ४५ प्रतिशत तोकेको थियो । यो वर्ष ५ प्रतिशतले भन्सार घटेको छ ।

सरकारले गत वर्ष ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानको भन्सार दर र अन्तशुल्कमा कुनै हेरफेर गरेको छैन ।


क्लिकमान्डु