आगामी वर्षदेखि विलासिता कर लिने सरकारको घोषणा, यी हुन् विलासी कर लाग्ने बस्तु



काठमाडौं । आगामी वर्षदेखि सरकारले विलाशी कर लिने भएको छ । सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका बस्तुमा विलासि कर लिने भएको हो ।

आगामी वर्षदेखि पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा खरिद रकममा दुई प्रतिशतका दरले विलासी कर तिर्नु पर्ने भएको हो ।

आर्थिक ऐनको दफा २१ मा विलाशी कर सम्बन्धी व्यवस्था गरिएको छ ।

ऐनमा पाँच तारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत, आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत र दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रेताले बिक्रीका बखत विलासिता शुल्क लगाई असुल गर्नु पर्नेछ उल्लेख छ ।

विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चिस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी आन्तरिक राजस्व कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

कुनै व्यक्तिले समयमै विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिने ऐनमा उल्लेख छ ।

विलाशी कर सम्बन्धी विवरण पेस नगरेमा विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ कानूनी व्यवस्था गरिएको छ ।

सेवा प्रदायक संस्थाले विलाशी कर असुल नगरेमा सो रकमको पच्चिस प्रतिशत शुल्क लाग्ने कानूनी व्यवस्था गरिएको छ ।

आन्तरिक राजस्व विभागलाई विलाशी कर सम्बन्धी प्रशासन गर्ने अधिकार दिइएको छ ।


क्लिकमान्डु