प्यूर ब्रान्डको पेपर रोल बेच्ने अरिहान्त कम्पनीको व्यापारमा उछाल, साढे २ अर्बको व्यापार



काठमाडौं । प्यूर ब्रान्डको टिस्यू पेपेर रोल बेच्ने अरिहन्त अटो कोरुगेसन प्रालिको व्यापारमा उछाल आएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ३९ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ७२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा एकै वर्ष २ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब २० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१० देखि निरन्तर कार्डबोर्ड बक्स, क्राफ्ट पेपर र डुल्याक्स पेपर उत्पादन गर्दै आएको कम्पनीले टिस्यू पेपर रोल प्यूर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले लेमिनेटेड ‍काठ उत्पादन गर्न उद्योग स्थापना गर्ने भएको छ । सोही उद्योग स्थापनाका लागि १ अर्ब ४३ करोड १७ लाख रुपैयाँ ऋण लिने भएको छ । जसमा कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड रुपैयाँ र दीर्घकालीन कर्जाका लागि ४० करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले ७० प्रतिशत ऋण र ३० प्रतिशत कम्पनीले लगानी गरेर उद्योग स्थापना गर्ने भएको हो । कम्पनीअनुसार निर्माण भइरहेको उद्योग २०२४ देखि सञ्चालनमा आउने जनाएको छ ।

कम्पनीले आन्तरिक र आयातित कच्चा पदार्थ प्रयोग गरी विभिन्न प्रकारका कागजजन्य वस्तु उत्पादन गर्दै आएको छ । कच्चा पदार्थको मूल्य एकरुपता छैन । त्यसमा कम्पनीले कच्चा पदार्थका लागि सप्लायर्ससँगको बार्गेनिङको आधारमा मूल्य तय हुन्छ । जसले गर्दा नाफामा असर पर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले कारोबार गरेकोमध्ये ७८ प्रतिशत हिस्सा कच्चा पदार्थको छ । पारास लुनिया अध्यक्ष रहेको कम्पनीले सन् २०२२ मा १२.९६ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ६.७८ प्रतिशतले नाफा कमाएको थियो ।


क्लिकमान्डु