झण्डै २ अर्बको घरजग्गा बिक्री गर्दै कालु गुरुङ, ४९ करोडको कारोबार



काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले करिब सवा २ अर्ब रुपैयाँ बराबरको घरजग्गा बिक्री गर्ने भएका छन् । कालु गुरुको पूर्णस्वामित्व रहेको रोडशो रियल स्टेट प्रालिले १ अर्ब ६९ करोड ७० लाख रुपैयाँको घरजग्गा बिक्री गर्ने भएको हो ।

कम्पनीसँग भएको १९ करोड ४० लाख रुपैयाँ बुक भ्यालूको मौज्दात रहेको जग्गा र १ अर्ब ५० करोड ३० लाख रुपैयाँको अपार्टमेन्ट बिक्रीका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

बिक्रीका लागि राखिएको अपार्टमेन्टबाट कम्पनीले जनवरीसम्ममा ग्राहकबाट ८८ करोड ७० लाख रुपैयाँ रकम संकलन गरिसकेको छ । तर, अर्थतन्त्रमा देखिएको समस्याले गर्दा अपार्टमेन्ट खरिदका लागि ग्राहकलाई चुनौती भएको कम्पनीको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र मौद्रिक नीतिमा घरजग्गा क्षेत्रमा कडाइ गरेको थियो । जसले गर्दा यो वर्ष घरजग्गाको माग कम भएको कम्पनीले जनाएको छ । तर, आगामी दिनमा भने माग बढ्ने अनुमान कम्पनीको छ ।

सन् १९९७ मा पोखरामा दर्ता भएको कम्पनीले जग्गा प्लटिङसँगै हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा ४९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा ४६ करोड र सन् २०२० मा ७६ करोड रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीले १ अर्ब १४ करोड ३३ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ करोड ६७ लाख रुपैयाँ अर्थात् सिंगल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ८ करोड ६५ लाख अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु