कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन



काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले पर्यटकीय नगर पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो ।

गुरुङको कम्पनीले कास्की जिल्लाको पोखरामा अन्नपूर्ण अपार्टमेन्ट–मासवारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्ट निर्माण गर्दैछ । कम्पनीले एक सय युनिटको दुईवटा अपार्टमेन्ट १ लाख ३२ हजार ३५४ स्क्यावरफिटमा निर्माण गरिरहेको छ ।
कम्पनीले उक्त दुईवटा अपार्टमेन्ट १ अर्ब ४९ करोड ९० लाख रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान गरेको छ । हालसम्ममा ६७ करोड ६० लाख रुपैयाँ ऋण लिइसकेको कम्पनीले जनाएको छ । साथै, निर्माण भइरहेको अपार्टमेन्टमा ग्राहकले बुकिङ गरेवापत अग्रिम भुक्तानी गर्दा ६० करोड ८० लाख रुपैयाँ संकलन गरेको छ ।

सन् २०२३ को मार्चसम्ममा ५४.४० प्रतिशत आर्थिक प्रगति र अन्नपूर्ण अपार्टमेन्ट–मासवार र अन्नपूर्ण अपार्टमेन्ट–लेकसाइड सेदी गरी ३७.२२ प्रतिशत भौतिक प्रगति गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५१ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड ११ लाख रुपैयाँ गरी ८८ करोड ६७ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जामा डबल बी माइनस र अल्पकालीन कर्जामा एफोर रेटिङ पाएको छ ।

निर्माण भइरहेको हाउजिङ आयोजना सम्पन्न गर्नका लागि उक्त कर्जा लिएको कम्पनीले जनाएको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा निर्माण लागत बढ्दा कम्पनीको कुल कर्जा बढेको छ । सन् २०२१ मा २४ करोड ८० लाख रुपैयाँ कर्जा रहेकोमा अहिले बढेर ४२ करोड २० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

सरकारले चालु आर्थिक विधेयकमार्फत् पूँजीगत लाभकर बढाएको छ । जसमा घरजग्गाको स्वामित्व पाँच वर्ष वा ५ वर्षभन्दा बढी भएको छ भने ५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, गैरव्यावसायिक करयोग्य सम्पत्ति घरजग्गाको स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने ७.५ प्रतिशतको दरले कर लाग्नेछ ।

अब, ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ । विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको थियो ।

आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ क संशोधन गर्दै घरजग्गाको नाफामा पूँजीगत लाभ कर बढाइएको हो । चालु आर्थिक वर्षको विद्येयकमार्फत् लाभकर पूँजी बढाएकाले पनि रियल स्टेट क्षेत्रको कारोबार घटेको कम्पनीको भनाइ छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जाको अनुपात घटाएको छ । राष्ट्रले बैंकले कर्जाको अनुपात उपत्यका बाहिर ५० प्रतिशत रहेकोमा अहिले घटाएर ४० प्रतिशत र उपत्यकामा ४० प्रतिशत रहेकोमा अहिले घटाएर ३० प्रतिशत हुने व्यवस्था गरेको छ । उक्त व्यवस्थासँगै तरलता अभावले गर्दा रियल स्टटे क्षेत्रको कारोबारमा असर पुगेको कम्पनीको भनाइ छ ।

विगत दुई दशकदेखि रियल स्टेट क्षेत्रका व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले एक वर्षमा ४० रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ४० करोड रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२० मा १३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीअनुसार सन् २०२१ को तुलनामा २०२२ मा १९४ प्रतिशतले आम्दानी बढेको छ । सन् २०२२ मा उच्च जग्गा बिक्री हुँदा आम्दानी बढेको कम्पनीले जनाएको छ । जग्गामा बढी नाफा हुँदा सन् २०२२ मा ३०.१५ प्रतिशतले नाफा कमाएको छ । जबकी कम्पनीले सन् २०२१ मा १३.३६ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले सन् २०२२ मा मात्रै ५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२१ मा १ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

सन् २००४ मा स्थापना भएको कम्पनीले रियल स्टेट क्षेत्रमा काम गर्दै आएको छ । गुरुङको पूर्ण स्वामित्व रहेको कम्पनी जग्गा प्लटिङ र बिक्रीमा संलग्न छ ।

कम्पनीले रियल स्टेट इन्भेष्टमेन्ट म्यानेजमेन्ट, प्रोपर्टी डेभलेपमेन्ट, हाउजिङ, कन्स्ट्रक्सन र अन्य रियल स्टटे क्षेत्रमा पनि काम गर्दै आएको छ । गुरुङको कम्पनीले पोखराको सेदीमा अन्नपूर्ण केवलकार सञ्चालन गरिरहेको छ । साथै, गुरुङ माछापुच्छ्रे ब्रिक फ्याक्ट्रीको पनि अध्यक्ष हुन् ।


क्लिकमान्डु