ब्रिटिस आर्मी बन्न नसकेका कालु गुरुङ यसरी बने रियलस्टेट र हाउजिङ किङ, अर्बौंको साम्राज्य



काठमाडौं । कालु गुरुङ अर्थात् स्थापित घरजग्गा व्यवसायी । कतिपयले त गुरुङलाई ‘रियलस्टेट र हाउजिङको किङ’ पनि भन्छन् । गुरुङ अध्यक्ष रहेको रोड शो रियलस्टेट प्रालि परिचित र स्थापित छ ।

गुरुङले डेढ दर्जन आयोजनाहरु बनाएर करीब १५ सय युनिट आवास हस्तान्तरण गरिसकेको छ भने आधादर्जन आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् ।

तीन दशक नवित्दै व्यापार साम्राज्य स्थापित गर्न सफल उनी कसरी यो व्यवसायमा आए भन्ने सन्दर्भचाहीँ निकै रोचक छ । व्यापारिक यात्रामा उनले अर्बौंको साम्राज्य खडा गरेका छन् ।

समाजले सफलता देख्छ । र, अधिकांश मान्छेहरु सफलताकै पछि दौडिन्छन् पनि । तर, सफल बन्नका लागि के कति संघर्षहरु गरिएका हुन्छन् भन्ने कुराको जानकार भने थोरै मान्छेमात्रै हुन्छ ।

के सबै ठाउँमा सफलता मिल्छ त ? अहँ मिल्दैन । यदि सफलता मिलेको हुथ्यो त यतिखेर कालु गुरुङ अवकासप्राप्त ब्रिटिस आर्मीको जीवन बिताइरहेका हुने थिए ।

तर, ब्रिटिस आर्मी बन्न नसकेर व्यवसायी बने । र, अहिले पनि व्यवसायमा उत्तिकै सक्रिय छन् ।

‘जातले त लाहूरे हुनुपर्ने मान्छे हुँ म, ब्रिटीस आर्मीमा भर्ती हुनका लागि प्रयास पनि गरेँ,’ उनले सुनाए, ‘तर फेल भएँ । लाहूरे हुन नसकेपछि व्यवसायमा लागेको हुँ ।’धम्पुसको माथि अस्ट्रेलिन क्याम्पमा ब्रिटिस आर्मीका लागि गल्ला खुलेको थियो । १७ वर्षकै उमेरमा गुरुङ पनि २ पटक सहभागी भएँ । तर, छातीको नाप नपुगेर फेल भए । त्यसपछि उनले ब्रिटिस आर्मी बन्ने प्रयासै गरेनन् ।

‘ब्रिटिस आर्मी बनेको भए यतिखेर रिटायर्ड लाइफ बिताइरहेको हुन्थेँ,’ उनले भने, ‘व्यवसायी बनेपछि त बुढेसकालमा पनि काम गर्नु परेको छ, व्यस्त जिवन जिउनु परेको छ ।’

ब्रिटिस आर्मी बन्न नसकेर त्यतिकै बसेका गुरुङले इच्छाबहादुर डंगोललगायतकाको संगतमा पुगे । इच्छाबहादुर त्यसबेलै घरजग्गाको व्यवसाय गर्थे ।

‘इच्छाबहादुर, बुद्धिनारायण श्रेष्ठ र मोहनलाल शेरचन दाईहरुको संगतले मलाई यो ब्यवसायमा ल्यायो,’ उनी भन्छन्, ‘सन् १९९३  देखि नै यो व्यवसाय शुरु गरेको भए पनि विधिवतरुपमा दर्ता गरेर भनेर सन् १९९७ देखिमात्रै काम थालियो ।’

गुरुङले पहिलो हाउजिङ चण्डोलमा शुरु गरे । त्यो ९ वटा युनिटको थियो । यो बीचमा धेरै अपार्टमेन्ट र हाउजिङ बनाएर बिक्री गरिसकेका छन् भने जग्गा प्लटिङ गरेर हजारौं घडेरीहरु बिक्री गरिसकेका छन् ।

अहिले अन्नपूर्ण केवलकार रहेको ठाउँ पोखराको सेदीमा ६० युनिटको अन्नपूर्ण अपार्टमेन्ट बनाउन लागेका छन् ।

‘अहिलेसम्म १० वटा हाउजिङ प्रोजेक्ट र ३/४ वटा अर्पाटमेन्ट बनाएर करीब १५ सय युनिट हस्तान्तरण गरिसकेका छौं,’ गुरुङले भने, ‘यी काम गर्नका लागि हामी डोको बोक्नेदेखि मन्त्रिपरिषसदसम्म पुग्यौं ।’

यति झन्झट भोगेर प्राप्त हुने प्रतिफल चाहीँ जम्मा १० देखि १५ प्रतिशतमात्रै भएको उनको भनाइ छ ।

‘प्रतिफल कम भएपनि म खुसी छु,’ उनले भने ।

व्यापार विस्तारका क्रममा गुरुङले हजार जनालाई रोजगारी सिर्जना गरेका छन् । बस्ती विकासदेखि ल्याण्ड पुलिङ ऐन बनाउनमा उनको पनि योगदान छ ।

नेपालमा अपार्टमेन्टको ठूलो संभावना भएको उनको भनाइ छ ।

‘नेपालमा जग्गा धेरै महंगो छ, त्यसैले अपार्टमेन्टको विकल्प छैन,’ उनले भने ।

कसरी आए केवलकारमा ?

हाउजिङ तथा रियलस्टेटमा साम्राज्य विस्तार गर्न सफल गुरुङ कसरी आए त केवलकार व्यवसायमा ?

गुरुङका अनुसार पहिलो कुरा हाउजिङ पनि पूर्वाधार क्षेत्र नै हो । र, केवलकार पनि पूर्वाधार क्षेत्र नै हो । दोस्रो कुनै पनि प्रोडक्ट तयार पार्नलाई जमिन प्राप्त गर्नुपर्छ ।

‘म जमिनको व्यापार गर्ने व्यवसायी परेँ, कामकै सिलसिलामा केवलकार बनाउन इच्छुक व्यापारी साथीभाईसँग जम्काभेट भयो, त्यसैको फलस्वरुप म केवलकार बनाउन आइपुगेँ,’ उनले सुनाए, ‘योजनावद्ध तरिकाले केवलकारमा आएकै होइन ।’

जापानिहरु पोखरामा होटल बनाउनका लागि जग्गा खोज्दै गुरुङकहाँ पुगे । उनले जग्गा मिलाइदिए । यसरी शुरु भएको चिनाजानीमा दोस्ती जम्यो । यो सन् २००३ तिरको कुरा हो ।

नेपालमै बसेर व्यापार व्यवसाय गर्दै आएका जापानिक नागरिक ताकासी मेयरासँगको संगतले गुरुङ केवलकारमा प्रवेश गरेका हुन् । ताकासी एक वर्षअघि नै स्वर्गारोहण भइसकेका छन् ।

‘जापानको निपुन केवलको एउटा प्रोडक्ट ल्याएर सारङ्कोटमा केवलकार चलाउनुपर्यो गुरुजी भनेर उहाँले मलाई प्रस्ताव गर्नुभयो,’ उनले सुनाए ।

ताकासीले नै केवलकार कम्पनी दर्ता गरे । सर्भे लाइसेन्स लिए । प्रक्रिया शुरु गरे ।

‘उहाँकै योजनाअनुसार स्थानीय साझेदार बनेर मैले ताकासीजीलाई सहयोग मात्रै गरेको हुँ,’ गुरुङ भन्छन् ‘फेवातालबाट सारङकोट केवलकारमार्फत जान पाउने भनेको यहाँको पर्यटनमा अर्को क्रान्ति हुन्छ भन्ने लागेर पनि म कन्भिन्स भएँ ।’

कामको सिलसिलामा ताकासी वृद्ध हुँदै गए । ८५/८६ वर्षको भएपछि उनी अस्वस्थ भए । त्यसपछि केवलकार निर्माणको नेतृत्व गुरुङले गरे ।

‘४ वर्षअघिसम्म मलाई केवलकारको के पनि थाहा थिएन, आफूले जीवनमा बोल्दै नबोलेको, सुन्दै नसुनेका कुरा र शब्दहरु सुन्न पाउँदा एकदमै खुसी छु,’ गुरुङ भन्छन्, ‘अब व्यवसायको जिम्मा छोराहरुलाई लगाएर म रिटायर्ड हुन्छु ।’

अन्नपूर्ण केवलकार

गुरुङको नेतृत्वमा पोखरास्थित फेवा तालको किनारदेखि सारङ्कोटसम्म केवलकार निर्माणाधीन छ । २०७८ बैशाखदेखि केवलकार सञ्चालनमा ल्याउने गरि काम भइरहेको र सञ्चालनमा आएको ३ वर्षपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना रहेको छ ।

‘केवलकार नाफामा गएपछि हामी आइपीओ जारी गर्छौं,’ गुरुङले सुनाए ।

केवलकार बनाउनका लागि पौने २ अर्ब खर्च भएको उनले जानकारी दिए । जसमा ७० प्रतिशत ३०/४० जना व्यवसायीहरुको र बाँकी ३० प्रतिशत स्थानीयबासी र जापानिज लगानीकर्ताको छ । केवलकारले ७५ रोपनी क्षेत्रफल ओगटेको छ ।

‘पोखरादेखि सारङकोट जाने पर्यटकको संख्या प्रतिदिन औषतमा ३ देखि ४ हजार छ,’ उनले भने, ‘जसको ३० प्रतिशत हिस्साले मात्रै केवलकार चढ्यो भने हामीलाई पुग्छ ।’

कम्पनीले एक दिनमा कम्तीमा १५ सय जना यात्रुलाई ओसारपसार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले शुरुमा १८ वटा ‘केबलकारका डिब्बा’सञ्चालनमा ल्याउने छ भने एउटा ‘डिब्बा’मा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्नेछन् । कम्पनीले भविष्यमा एकैपटकमा ३५ वटा ‘डिब्बा’ चलाउने योजना बनाएको छ । सेदीदेखि सराङकोटसम्मको साढे २ किलोमिटरको दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ ।

केवलकारमा यात्रा गरिरहँदा ३ मिनेट पूर्णरुपमा हिमालय रेञ्जको दृश्यावलोकन गर्न सकिन्छ भने फेवातालको मनोरम दृश्यले यात्रुहरुलाई पुकलित बनाउँछ ।

पोखराबाट साराङकोट गाडीमा ४५ मिनेटमा पुग्ने समयलाई केबलकारले ८ मिनेटमै पूरा गरिदिनेछ ।

‘पर्यटकलाई सराङ्कोटबाट सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सहज होस् भनेर केबुलकार बिहान ५ बजेदेखि नै शुरु भएर साँझसम्म चल्नेछ,’ गुरुङले भने ।

उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा लगानी गरेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो ।

कम्पनीले यात्रुसँग लिइने टिकटको मूल्य समेत निर्धारण गरिएको छ । कम्पनीका अनुसार नेपालीलाई ६ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ७ सय रुपैयाँ र अन्य विदेशी नागरिकलाई ८ सय रुपैयाँ शुल्क लिइनेछ ।

माथिल्लो स्टेसन भवनसहित स्काई हेवन वेलुन रेस्टुराँ, भ्यु टावर निमार्ण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निमार्ण भइरहेको छ ।


पुष्प दुलाल