नेपाल-बंगलादेश ऊर्जा वार्ता: सुनकोशी तेस्रोमा सहमति, ४० मेगावाट लैजान त्रिपक्षीय सम्झौता गर्ने निर्णय



काठमाडौं । नेपाल-बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । आयोजना निर्माणका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको छ ।

सचिव स्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेश लैजाने विषयमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने निर्णय पनि भएको छ ।

बंगलादेश र नेपाल विद्युत व्यापारका लागि भारतले स्वीकृति आवश्यक पर्छ । भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले अनुमति लिनुपर्ने भएको हो ।

बैठकमा नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौता (पावर सेल्स एग्रिमेन्ट) मा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय भएको छ ।

बंगलादेशमा सोमबार र मंगलबार बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका विषयमा हस्ताक्षर भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सुनकोशी-३ काभ्रे र रामेछापको सिमानामा पर्छ । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ । यसबाट वार्षिक २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण छ । हिउँदयाममा भने ६२ करोड २३ लाख युनिट मात्र उत्पादन हुन्छ ।


क्लिकमान्डु