‘विदेशबाट फर्किंदा २ लाखको आईफोन ल्याउने र टिकटक बनाएर बस्ने हो भने त्यसको के काम ?’



काठमाडौं । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले वैदेशिक रोजगारीबाट आएको विप्रेषण उत्पादनमूलक क्षेत्रमा कति लगानी भएको छ त्यो हेर्नुपर्ने बताए ।

बैंकिङ समाचारले आयोजना गरेको नेसनल बैंकिङ डिस्कोर्स २०२३ मा उनले प्रश्न गरे, ‘विदेशबाट फर्किंदा २ लाखको आईफोन ल्याउने र टिकटक बनाउने हो भने त्यसको के अर्थ छैन ?’

रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च हुन नसक्दा विदेसिने युवाका साथै देशले लाभ लिन नसकेको उनको तर्क छ ।

नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष चन्द्र टन्डनले २५ वर्षको इतिहासमा पहिलो पटक यो वर्ष राष्ट्र बैंकले के-के समस्या छन् भनेर सोधेको बताए ।

यो अवधिमा राष्ट्र बैंकले कानुनी सुधारका लागि पनि छलफल गरेको उनले जानकारी दिए । नेपाली कामदारको लागत घटाउन सके विप्रेषण बढ्ने उनको भनाइ छ । ‘विप्रेषण बढेको भए पनि अपेक्षित होइन,’ उनले भने, ‘नेपाली श्रमिकलाई सुनको भरिया बनाइएको छ र त्यो रकम हुन्डीमार्फत बाहिरिएको छ । विप्रेषण बढाउन सुनको तस्करी रोक्नुपर्छ, अनौपचारिक क्षेत्रमा हुने व्यापार र नि:शुल्क भिसा, टिकट कार्यान्वयन हुनुपर्छ ।’


क्लिकमान्डु