घरजग्गा क्षेत्रमा ५ सय खर्ब लगानी भएको अनुमान छ: अध्यक्ष लोहनी
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा क्षेत्रमा कति लगानी भएको छ त्यसमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेको ‘मुलुकको आर्थिक वृद्धिमा घरजग्गा क्षेत्रको सम्भावना’ विषयक कार्यक्रममा अध्यक्ष लोहनीले घरजग्गा क्षेत्रको लगानीबारे अध्ययन जरुरी रहेको बताएका हुन् ।
‘नेपालमा घरजग्गा क्षेत्रमा कति लगानी भएको छ भन्ने विषयमा अहिलेसम्म अध्ययन हुन सकेको छैन न सरकारसँग यकिन तथ्यांक छ न त निजी क्षेत्रसँग नै, त्यसैले सरकारले प्राथमिकतामा राखेर यसको अध्ययन गर्नुपर्छ,’ उनले भने ।
महासंघसँग घरजग्गा क्षेत्रमा हालसम्म ५ सय खर्ब हाराहारी लगानी भएको अनौपचारिक तथ्यांक छ । साथै, घर क्षेत्रमा १ सय ८८ खर्ब लगानी भएको पाइन्छ । उक्त रकम भनेको नेपालको ३० वर्षको बजेट हो ।
त्यस्तै, उनले कित्ताकाटमा पनि सहजीकरण गर्नुपर्ने जिकिर गरे । सरकारले विभिन्न समयमा विभिन्न प्रकारका नीति तथा कार्यक्रम अगाडि बढाएको छ । त्यसमा कतिपय नीतिले भने व्यवसायीलाई उच्च प्रभाव परेको उनको भनाइ छ ।
सरकारले २०७४ सालमा ल्याएको ऐेनको विषयमा अहिले छलफल गरिरहेको अवस्था छ । उक्त ऐनलाई लागू गर्न ल्याइएको नियमावली ५ वर्षपछि लागू भएको छ । तर, नियमावलीअनुसार कार्य हुन नसक्दा राजस्व संकलनमा समेत धक्का पुगेको उनको भनाइ छ ।