संसदीय समितिहरुको बैठक बस्यो, ज्येष्ठ सदस्यले गरे बैठकको अध्यक्षता



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको दशवटा विषयगत समितिहरुको बैठक बसेको छ ।

समितिहरुको बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो । सबै समितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरेका छन् ।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका हुन् ।

पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले गरेका छन् ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहेका छन् ।

त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन् ।


क्लिकमान्डु