नेपालमा उत्पादित सवारी दर्ता आरम्भः आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी बन्यो ‘यात्री’



काठमाडौं । नेपालमै उत्पादित सवारी ‘यात्री’ दर्ता भएको छ । बाइकको दर्ता भएसँगै आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी ‘यात्री’ बनेको छ । ‘यात्री’ले पहिलो बाइक जेठ १ गते दर्ता गरेको हो ।

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्ने व्यवस्था नभएको भन्दै सरकारको चर्को आलोचना भएपछि वैशाख १४ गते नेपालमै उत्पादित सावरी दर्ता गर्ने बाटो खोलिएको थियो ।

यातायात व्यवस्था विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नेपालमा उत्पादित सवारी साधनको दर्ताको बाटो खुलाएको थियो । यातायात व्यवस्था विभागले कार्यविधिको ११.१ अन्तर्गत नयाँ बुँदा थप गरि संशोधन गरेर बाटो खुलाइएको थियो ।

कार्यविधिमा संशोधन गर्दै ११.१.९ नम्बर बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्तासम्बन्धी विशेष व्यवस्था गरिएको छ । अब विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता, नामसारीलगायतका लागि सवारीको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने उल्लेख छ ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता, नामसारीलगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापन पत्रको सट्टा मूल्य अभिवृद्धि करको बिल आवश्यक हुने गरी संशोधित कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रचलित कानुनअनुसार अन्तः शुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा भने अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ ।


क्लिकमान्डु