लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की



दाङ । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

वैशाख १५ मै मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेको अझै जिम्मेवारी तोकिएको छैन । यसअघि १० वटै मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।

बजेट बनाउने बेलामा अर्थ मन्त्रालय नेतृत्वविहीन हुँदा समस्या हुने भएपछि अर्थको टुंगो लगाइएको हो । बाँकी मन्त्रीको जिम्मेवारी दिने काम र मन्त्रीमण्डललाई पूर्णता दिने काम चाँडै हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले १ मन्त्रीको मात्रै जिम्मेवारी तोक्ने निर्णय गरेको उनले बताए । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस ४, माओवादी ३ र अन्य ६ साना दललाई १-१ मन्त्रालय दिने तथा मन्त्रालय थप्नेसम्मको गृहकार्यमा सरकार छ ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १५ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । ८७ सदस्यीय प्रदेश सभामा ८ राजनीतिक दल र १ स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका हुन् ।


क्लिकमान्डु