हिमाल खबरपत्रिका बन्द



काठमाडौं । हिमाल मिडिया प्रालिले प्रकाशन गरिरहेको मासिक म्यागेजिन ‘हिमाल खबरपत्रिका’ बन्द भएको छ । जेठ अंकको प्रकाशनसँगै हिमाल खबरपत्रिकाले विश्राम लिएको प्रकाशक कनकमणि दीक्षितले जनाएका छन् । 

जेठको प्रकाशित अंकको प्रकाशकीयमार्फत दीक्षितले हिमाल पत्रिकाले विश्राम लिएको जनाएका हुन् ।

उक्त प्रकाशकीयमा दीक्षितले भनेका छन्, ‘नचाहेरै पनि यति बेला पाठकलाई दुःखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अंकबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ र मिडिया बजार तथा पाठकका चासो र रुचिको समिक्षा गरी फेरि कुनै न कुनै रूपमा कुनै बेला तपाईँको हातमा आउने नै छ ।’

२५ वर्षदेखि प्रकाशन भइरहेको हिमाल खबरपत्रिका सुरुवातमा पाक्षिक हुँदै साप्ताहिक र पछिल्लो समय मासिक रूपमा प्रकाशन भइरहेको थियो । कोरोना महामारीका बिच प्रकाशन स्थगित भएको हिमाल खबरपत्रिका २०७८ पछि मासिक रूपमा पुनः प्रकाशन हुन थालेको थियो । 

हिमाल मिडिया प्रालिले अब भने हिमाल खबरपत्रिका कुन समयपछि पुनः प्रकाशनमा आउँछ भन्ने खुलाएको छैन । दीक्षितले प्रकाशकीयमा भनेका छन्, ‘हिमाल खबर डटकमको काम यथावत् रहनेछ ।’

यसअघि कोरोना महामारीका बिच पाठकमाझमा लोकप्रिय अर्को म्यागेजिन ‘नेपाल’ पनि बन्द भएको थियो । कान्तिपुर पब्लिकेसनको प्रकाशन रहेको उक्त म्यागेजिन त्यसयता पुनः प्रकाशनमा आउन सकेको छैन । 


क्लिकमान्डु