निजी जग्गामा सरकारी भवन निर्माण



महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँ लगानी गरेर सरकारी भवन निर्माण गरेको फेला परेको छ ।

गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा ३ व्यक्तिको नाममा दर्ता कायम रहेको एक जग्गामा पालिकाको १४ लाख लगानीमा सरकारी भवन निर्माण गरेको हो ।

साविक सुन्दरपुर गाविस-३ बस्ने उसमान नदाफ, वारिस नदाफ र इसलाम नदाफको नाममा मालपोत कार्यालयबाट जारी भएको जग्गाधनी दर्ता प्रमाण पुर्जामा सुन्दरपुर-३ ख कित्ता नम्बर ३८६ को क्षेत्रफल ०-०-४१/२ र कित्ता नं ३८७ को क्षेत्रफल ०-०-१/२ दुवै गरी जम्मा पाँच धुर जग्गा कायम रहेको जग्गामा गाउँपालिकाले १३ लाख ९७ हजार ३३० रुपैयाँ लागतमा मदरसा भवन निर्माण गरेको कार्यस्थलमा जडान गरेको होर्डिङबोर्डमा उल्लेख छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को योजनामार्फत सोनमा-६ मगरथाना गाउँको वारिस नदाफको घरनजिकै ‘मदिना मदरसाको भवन निर्माण’ योजना २०७९ मंसिर २० गते सञ्चालन गरेर २०८० वैशाख ३० गते सम्पन्न गरिएको छ ।

गाउँपालिकाले जग्गाधनीमध्ये वारेस नदाफलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाएर ७ सदस्यीय समितिमार्फत सो योजना सम्पन्न गरेको तथ्य फेलापरेको हो । वडा नं १ का अध्यक्ष अशोककुमार यादवले गाउँपालिका अध्यक्ष विशेश्वर यादवले आर्थिक अनियमितता गर्ने उद्देश्यले व्यक्तिगत जग्गामा सरकारी पैसा लगानी गरेर मदरसा भवन निर्माण गरेको आरोप लगाएका छन् ।

गाउँपालिका उपाध्यक्ष जहिदा खातुनले आफूलाई सुरुमा सो योजना व्यक्तिगत जग्गामा सञ्चालन भएको जानकारी नै नभएको र पछि आफूलाई अनुगमन गर्न उपभोक्ता समितिका अध्यक्षलगायतले भन्न आउँदा मात्रै आफूले व्यक्तिगत जग्गामा सरकारी लगानी गरिएको थाहा पाएपछि आफूले अनुगमनसमेत नगरेको बताइन् ।


क्लिकमान्डु