प्रहरी खोज्दै पुगेपछि पोखराबाट नुवाकोट हुँदै काठमाडौं आएका थिए टोपबहादुर



फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइँदै छ । रायमाझी हिजो राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । पक्राउ परेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइन लागेको हो ।

रायमाझीलाई बुढानिलकण्ठस्थित पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रायमाझीलाई आफन्त नारायण पौडेलको घरबाट नियन्त्रणमा लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएको समयमा गृहजिल्ला अर्घाखाँचीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी भएका उनी काठमाडौं आउने जनाए पनि फरार भएका थिए ।

विमानमा आउन टिकट काटेका उनी त्यसलाई रद्द गरेर सम्पर्क विहीन भएका थिए । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई सम्पर्क गरेर काठमाडौं आउने जानकारी गराए पनि रायमाझी सम्पर्कविहीन भएका थिए।

भैरहवाबाट काठमाडौं आउने टिकट काटेका उनी काठमाडौं नआइ सम्पर्क विहीन भएपछि भारत पसेको हुनसक्ने आशंकाहरु उब्जिएका थिए।

पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका उनलाई उनको दल नेकपा एमालेले प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सहयोग भनेको थियो । पार्टीबाट कारबाही नगरेको भन्दै आलोचना बढेपछि एमालेले सचिवबाट रायमाझीलाई निलम्बन गरेको थियो।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीका व्यक्तिले आफूलाई सम्पर्क गरेको र आफूले प्रहरीकोमा हाजिर हुनु भनेको भए पनि सो दिन उनी प्रहरीमा हाजिर भएका थिएन ।

पक्राउ पुर्जी जारी भएको लामो समयदेखि फरार भएपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली परिचालन गरिएको थियो । सिआईबीको एउटा टोली उनको खोजीमा भारत पुगेको थियो ।

उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचार समेत गरिसकेको थियो ।

केही दिन अघिमात्र रायमाझीले संघीय संसदमा आफू बिरामी परेको पत्रसमेत पठाएका थिए । रायमाझीलाई पक्राउ गर्न नसकेर आलोचनामा परिरहेको प्रहरीले उक्त पत्र संघीय संसद सचिवालयमा ल्याउने व्यक्तिको खोजीसमेत तिव्र पारेको थियो।

पोखराबाट काठमाडौं

फरार भएका रायमाझी पोखरामा लुकेर बसेको खुलेको छ । प्रहरीले रायमाझी पोखरामा लुकेर बसेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटाएको थियो । उक्त टोली शनिबार पोखरा गएको थियो । तर, रायमाझीलाई पक्राउ गर्न सकेन ।

आफूलाई पक्राउ गर्न काठमाडौंबाट प्रहरी टोली पोखरा आएको सूचना पाएपछि रायमाझी पोखराबाट शनिबार काठमाडौं आएका थिए । रायमाझी पक्राउ परिने डरले थानकोट हुँदै नआएर गल्छीबाट नुवाकोटतर्फ गएका थिए । नुवाकोट हुँदै स्थलमार्गबाट उनी बूढानीलकण्ठस्थित पासिकोटमा बसेका थिए ।

पक्राउ परेका उनको आइतबार रातिनै स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रहरीले नक्कली भुटानी शरणार्थी घटनामा संलग्न रहेको आरोपमा उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको थियो ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो ।

यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि चार दिन म्याद थप भएको हो । पक्राउ परेका डा राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।


क्लिकमान्डु