बूढानीलकण्ठ बस्ने भाउजूलाई नोटको बिटोसहित चाकडी नगर्दा बढुवा भएन: पूर्वएसएसपी विष्ट



काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले रकम बुझाउन नसक्दा आफू बढुवाबाट वञ्चित हुनुपरेको दाबी गरेका छन् । ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवालाई चाकडी गर्न नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको दाबी गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पूर्वएसएसपी विष्टले ०४७ देखि ०७३ सम्मको अवधिमा आफू राजनीतिक आक्रमणमा परेको उनले उल्लेख गरेका छन् ।

उनले आफूमाथि ०४७ सालमा पहिलो आक्रमण सप्तरीबाट २४ घन्टाभित्र सरुवा गरेर दार्चुला पुर्‍याइएको उनको भनाइ छ ।

उनले तत्कालीन रूपनीका निमुखा गाउँलेहरूलाई फसाउन रचिएको झुठा डाँका मुद्दा दर्ता गर्न नमानेकोले तत्कालीन नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र एवं सप्तरीका नेता रामकुमार चौधरीले आफ्नो सरुवा गराएको बताएका छन् । यस्तै, उनले आफूमाथि ०७३ सालमा अन्तिम आक्रमण गरेको समेत खुलासा गरेका छन् ।

पूर्वएसएसपी विष्टले ०७३ मा ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवालाई चाकडी गर्न नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको बताएका छन् ।

उनले भनेका छन्, ‘०७३ मा सिनियारिटीमा १ नम्बरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत बूढानीलकण्ठ बस्ने भाउज्यूलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको ।’

जेष्ठताका आधारमा बढुवा हुनबाट वञ्चित भएका विष्ट ०७३ पुस १५ गते एसएसपीबाट अनिवार्य अवकाशमा गएका थिए ।


क्लिकमान्डु