क्वेस्ट फर्मास्युटिकल्सले एकै वर्ष गर्‍यो २ अर्ब ३२ करोडको व्यापार



काठमाडौं । व्यवसायी उमेशलाल श्रेष्ठसहित अन्य १४ जनाको लगानी रहेको क्वेस्ट फर्मास्युटिकल्सले एकै वर्ष २ अर्ब ३२ करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १६ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ९५ करोड ४ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २००१ मा पहिलो पटक नेपालमा कार्डिक सेग्मेन्टको अणु सार्वजनिक गरेको थियो । कम्पनीले विशेषगरी कार्डिभास्कुलर, डाइबेटिज, डर्मिटोलोजिकल र हाइपोलिपिडेमिकसहित अन्य विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

अहिले कम्पनीले एक सयभन्दा बढी प्रकारका २५ वटा क्याटागोरीमा डाइबेटिज र कार्डियोभास्कुलर सेग्मेन्टलाई प्राथमितामा राखेर उत्पादन गर्दै आएको जनाएको छ ।

व्यवसायी उमेशलाल श्रेष्ठसहित पृथ्वीराज भण्डारी, उत्तमकुमार श्रेष्ठ, शैलेन्द्रप्रसाद वर्माको ४५ प्रतिशत हिस्सा रहेको कम्पनीमा अन्य परिवारको लगानी रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९३ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

दीर्घकालीन कर्जाका लागि ३९ करोड १७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि कम्पनीले ५४ करोड रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले लिएको ऋणलाई प्लेस अन वाच विथ नेगेटिभ इप्लिकेशनको चिह्न प्रदान गरेको छ ।

औषधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धा छ । देशभर ५० भन्दा बढी सक्रिय औषधि उद्योगहरु छन् । तर, स्वदेशमा औषधि उत्पादन गरी बिक्री वितरण गर्दै कम्पनीले आयातित औषधिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । जसले गर्दा नाफामा उच्च प्रभाव परेको छ ।

नेपालका औषधि उत्पादन गर्ने कम्पनीहरु कच्चा पदार्थमा भने परनिर्भर रहेका छन् । कम्पनीहरुले विभिन्न प्रकारका कच्चा पदार्थ जस्तै एपीआई, एक्सीपीन्ट लगायत अन्य वस्तुहरु विदेशबाट आयात गर्दै आएका छन् ।


क्लिकमान्डु