सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अर्थतन्त्र खस्कियो: सांसद शाही



काठमाडौं । सांसद महेन्द्रबहादुर शाहीले सरकारले नै अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारण अर्थतन्त्र खस्केको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल, सडक, पुल लगायतका क्षेत्रमा लगानी गरेको र त्यसको प्रतिफल कति आयो भनेर हेर्ने बेला भएको बताए ।

‘विगतमा हामीले अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौ लगानी गरेका छौं, त्यसको अवस्था के छ, अन्तर्राष्ट्रिय विमानस्थलबाट हामीले के प्रतिफल पायौं, धेरै सडक बनायौं, त्यसले हामीलाई के लाभ दिएको छ, त्यहाँ गाडी कुदेको छ की छैन ? पुल बनायौं, पुलको अवस्था के छ, धेरै भवन बनायौं, त्यसको अवस्था के छ ? उपभोग भएको छ की छैन ?’ उनले भने ‘यी धेरै प्रयोगबिहीन भएका छन् । हामीले गरेको लगानी उत्पादन भन्दा पनि अनुत्पादनतर्फ भयो । अनुत्पादन क्षेत्रमा लगानी केन्द्रित भएको छ । त्यो पुँजी उत्पादनमा लगाउन नसके समस्या बढ्दै जान्छ ।’

उनले सडकको आवश्यक कति हो ? कति वटा खोलामा पुल बनाउनु पर्ने हो ? ती पुल हामीले प्रयोग गर्छौं । भवनको आवश्यक कहाँ छ ? यस्ता क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले उत्पादनका क्षेत्रको पहिचान गर्न आवश्यक रहेको बताए । उनले नेपालमा रहेका युरोनियम लगायतका खानीको उत्खनन गर्न सके, पर्यटक, कृषि जस्ता लगानीका क्षेत्रमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिने बताए ।


क्लिकमान्डु