तार व्यवस्थापनको समस्या यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त हुँदैन: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले तार व्यवस्थापनको समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताएका छन् ।

बालेनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको बताए ।

महानगरले यसअघि १५ दिने सूचना निकाल्दै सडकको पोलमा रहेको तारको व्यवस्थापन गरिने जनाएको थियो । तर, समस्या समाधान गर्न खोज्दा त्यस विपरित तार व्यवस्थापन गर्दा इन्टरनेट लगायतका सेवा अवरुद्ध हुन सक्ने भन्दै नगर्न आदेश प्राप्त भएको बालेनले जनाएका छन् ।

‘यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो’,उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

महानगरभित्र सबैतिर पोलमा गुजुल्टिएर रहेका तारका कारण आगलागीजस्ता समस्या हुने गरेको छ । मेयर बालेनकाअनुसार गत वर्ष यस्ता अव्यवस्थित तारका ५३ ठाउँमा आगलागी भएको थियो ।

महानगरले सूचना निकाल्दै १५ दिनभित्रमा सम्बन्धित सेवाप्रदायक वा निकायले व्यवस्थापन गर्नपर्ने नगरेमा महानगरले नै तार काट्ने बताएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समयअघि सबै स्थानीय तहलाई परिपत्र पठाएर त्यसो नगर्न र सम्बन्धितसँग समन्वयमा काम गर्न भनेको थियो ।

मेयर बालेनकाअनुसार तार व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर एकीकृत विकासका लागि कानुन बनाउन आग्रह गरेको धेरै समय भएको छ । तर, त्यसको सुनुवाई नभएपछि पछिल्लो समय महानगरले सूचना निकालेरै तार हटाउने भनेको थियो ।

‘समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ’, उनले बताएका छन् ।


क्लिकमान्डु