‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी



काठमाडौं । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताइन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन लागेको बताइन् ।
‘केही सस्तो र मिठो खाजाको रुपमा चाँही स्ट्रिट फूडहरु एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाईन डाईनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाँही फुड प्वाईजनिङ हुनु भएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अगाडि देखिनै विभागबाट पनि यसको एउटा कार्यविधि बनाऊ । र, कार्यविधिमा अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाइराखेका हुन्छौं । फुड प्वाईजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ।’

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् ।

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।


क्लिकमान्डु