सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग



काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।

सरकारले मे १ अर्थात् १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका बेला केन्द्रका कर्मचारीले भने सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार संघका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्ति पत्रसमेत नदिएको गुनासो गरे ।

‘जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्ति पत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्नेलगायत हाम्रो माग छ,’ उनले भने ।

देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताए ।

सरकारको लगानीमा २०३८ सालमा स्थापना भएको कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अघिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि पूरा नभएको सचिव क्षेत्रीको भनाइ छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पूरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताइन् । ‘यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ,’ उनले भनिन् ।


क्लिकमान्डु