एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः सुनिता डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताए ।

बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताइन् । ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको उनको भनाइ छ ।

अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सीसी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको बताइन् ।

‘अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिवद्धता पाएका छौँ । कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ । महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सीसी क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ’ उनले भनिन् ।


क्लिकमान्डु