बिप्रेषण बढी भित्र्याउने तीन बैंक तथा रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको सम्मान
काठमाडौं । नेपालमा धेरै रेमिट्यान्स पठाउने बैंक तथा वित्तीय संस्था र विद्युतीय कारोबार गर्ने कम्पनीलाई राष्ट्र बैंकले सम्मान गरेको छ ।
नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव कार्यक्रममा धेरै रेमिट्यान्स पठाउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । यस्तै विद्युतीय भुक्तानीतर्फ बढी कारोबार गर्ने दुई कम्पनीलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो ।
राष्ट्र बैंकका अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाबाट बिप्रेषणा ५१.७ प्रतिशत र अन्य संस्थाबाट ४८.३ प्रतिशत भित्रिएको छ ।
हिमालयन बैंकबाट कुल बिप्रेषणको १६.९ प्रतिशत भित्रिएको छ । यस्तै एसबिआईबाट १६.७७ प्रतिशत बिप्रेषण भित्रिएको छ । ग्लोबल आईएमई बैंकबाट १५.६५ प्रतिशत रेमिट्यान्स भित्रिएको छ ।
यस्तै रेमिट्यान्स कम्पनीतर्फ आईएमईबाट कुल रेमिट्यान्सको ३१.१५ प्रतिशत भित्रिएको छ । दोस्रोमा सिटी एक्सप्रेसबाट १४.९२ प्रतिशत र प्रभु मनि ट्रन्सफरबाट १०.९१ प्रतिशत बिप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै विद्युतीय भुक्तानी प्रणालिमा बढी सहयोग गर्ने दुईवटा कम्पनीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । बैंकले नेपाल क्लियरिङ हाउस र फोन पेलाई प्रशंसापत्र दिएको छ ।