बजारमा गाडीको माग नहुँदा टोयटाको व्यापार ५८% ले घट्यो, ६ महिनामा ९४ वटा बिक्री



काठमाडौं । आर्थिक मन्दीले बजारमा गाडीको माग नहुँदा टोयटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्सको व्यापार ५८.०८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा ५८ प्रतिशतले घटेको हो ।

कम्पनीअनुसार आर्थिक मन्दीले गर्दा बजारमा माग नहुँदा व्यापारमा कमी आएको जनाएको छ । साथै, सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले पैठरीमा प्रतिबन्ध गरेकाले गाडी विक्रेता कम्पनीको व्यापारमा धेरै प्रभाव परेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सरकारले लागू गरेको प्रतिबन्ध निर्णयले टोयटा गाडीको नेपालको लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिको व्यापार पनि ह्वात्तै घटेको छ ।

कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ८६ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । सो अवधिमा कम्पनीले ९४ युनिट गाडी बिक्री गरेको छ । जबकी सन् २०२२ को सोही अवधिमा कम्पनीले ३०५ युनिट गाडी बिक्री गरेको थियो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९७१ मा स्थापना भई टोयटा ब्रान्डको सवारी साधन, पार्टपूर्जा र सेवा दिँदै आएको कम्पनीमा तीन जनाको स्वामित्व छ । कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, रितुसिंह वैद्य र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत स्वामित्व छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । नेपाल सरकारले सन् २०२२ को अप्रिलमा आयातमा प्रतिबन्ध लगाएको थियो । जसले गर्दा कम्पनीको व्यापारमा असर पुगेको उल्लेख छ ।

वैद्य अर्गनाइजेशन अफ इन्डष्ट्रिजको हिस्सा रहेको कम्पनीले विगत ५ दशकदेखि टोयटा गाडीको व्यापार गर्दै आएको छ ।

कम्पनीले सन् २०२१ मा मात्रै आरएभीफोर हाइब्रिड, राइज र नयाँ भेरियन्टको फरच्यूनर र प्राडो मोडलको गाडी सार्वजनिक गरेको थियो । उक्त सार्वजनिक गरेको गाडीबाट व्यापारमा सुधार आएको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२२ मा ५२० युनिट गाडी बिक्री गरेको थियो । साथै, सन् २०२१ मा ५२६ युनिट गाडी बिक्री गरेको थियो । कम्पनीले सन् २०२२ मा ११.०७ प्रतिशतले नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको नयाँ मोडलको गाडी माग उच्च रहेको कम्पनीको भनाइ छ ।

कम्पनीको देशभर मुख्य १० शहरमा डिलर रहेको छ । कम्पनीको काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापामा डिलर छन् । साथै, कम्पनीको एउटा शोरुम र दुई वटा पार्टपूर्जाको शोरुम छन् ।


क्लिकमान्डु