उदयपुर सिमेन्टले कमायो साढे २ करोड नाफा, मौज्दात घटी हुँदा आयमा असर



काठमाडौं । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले वार्षिक एक लाख बढी क्लिङ्कर उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरको सिमेन्ट उत्पादन, सिमेन्टको आयात प्रतिस्थापन एवं निर्यातमा योगदान, देशको औद्योगिक तथा आर्थिक विकास र रोजगारी सिर्जना सहयोग पुर्याउने उद्देश्यले सुरु गरेको उद्योगले अहिले १ लाख बढी क्लिङ्कर उत्पादन गर्दै आएको छ ।

वार्षिक २ लाख ७७ हजार २ मेट्रिक टन उत्पादन भएको उद्योगले आर्थिक वर्ष २०७/७८ मा १ लाख ३८ हजार ६ सय मेट्रिक टन क्लिङ्कर उत्पादन लक्ष्य लिएको थियो । तर, उद्योगले ८९ हजार ७४ मेट्रिक टन मात्रै क्लिङ्कर उत्पादन गरेको थियो ।

त्यस्तै, आव २०७८/७९ मा उद्योगले १ लाख २० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन लक्ष्य राखेकोमा १ लाख ८ हजार ८१६ मेट्रिक टन उत्पादन गरेको छ ।

जसमा उद्योगले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ । उद्योगले उत्पादन गरेको ३९.२६ प्रतिशत भने उपयोग भएको महालेखापरीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले वार्षिक उत्पादनका आधारमा लक्ष्य निर्धारण गर्नुपर्नेमा लक्ष्य नै न्यून राखेको र निर्धारित लक्ष्यअनुसार उत्पादन हुन नसकेकोतर्फ व्यवस्थापनले ध्यान दिनुपर्ने जनाएको छ ।

कम्पनीको ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँ शेयर पुँजी, ६२ करोड करोड १५ लाख जगेडा कोष, ३ अर्ब ४७ करोड १३ लाख रुपैयाँ दीर्घकालीन दायित्व र १ अर्ब ६२ करोड करोड रहेको छ ।

९ अर्ब ३२ करोड ९७ लाखमध्ये गैह्र–चालु सम्पत्ति ८ अर्ब १७ करोड ४ लाख र चालु सम्पत्ति १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त रकम बराबरको आम्दानी गरेपनि कम्पनीले भने २९ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । तर, कम्पनीले आव २०७८/७९ मा १ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी गरेकोबाट कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ ।

नेपाल सरकारको ऋण र ब्याज सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको हिसाबअनुसार २०७९ असार मसान्तसम्म साँवा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र ब्याज १ अर्ब ३४ करोड ३७ लाख रुपौयँसमेत ३ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको छ ।

उद्योगको हिसाबमा साँवा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ र ब्याज १ अर्ब ६६ करोड ९ लाख रुपैयाँसमेत गरी ३ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको छ । महालेखाले उद्योगको हिसाबमा ३१ करोड ७२ लाख रुपैयाँको फरक हालसम्म हिसाब मिलान नभएको उल्लेख छ । उक्त हिसाब यकिन गरी मिलान गर्नुपर्ने जनाएको छ ।

नेपाल लेखामानअनुसार जिन्सी मौज्दातमा भएको घाटा वा मूल्यमा आएको कमी सोहि अवधिमा नाफा नोक्सान हिसाबमा समायोजन गर्नुपर्दछ ।

सञ्चालक समितिद्वारा गठित समितिको प्रतिवेदनको आधारमा २०७७ पौष मसान्तमा क्लिङ्करको मौज्दात किताबअनुसार ५५ हजार ३८५ मेट्रिक टन रहेकोमा भौतिक परीक्षण गर्दा १७ हजार ७४५ मेट्रिक टन मात्र देखिएकोले ३७ हजार ६४० मेट्रिक टनको ४२ करोड ६७ लाख ५६ हजार रुपैयाँ न्यून रहेको देखाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा २०७९ को असार २२ गतेमा जिन्सी मौज्दातको भौतिक परीक्षण गर्न गठित समितिको प्रतिवेदनअनुसार उक्त फरक मौज्दात अघिल्ला वर्षदेखि नै रहेको उल्लेख गरे तापनि सोको परीमाण किटान गरेको छैन ।

यस सम्बन्धमा थप छानविन गरी मौज्दात घटी भएको कारणले उद्योगको आयमा परेको असर यकिन गर्न निर्देशन दिएको छ । महालेखाअनुसार प्रतिवेदनमा छुट्टै र भौतिक परिक्षण गर्दा छुट्टै मौज्दात भेटिएकाले कम्पनीको आम्दानीमा असर पुगेको जनाएको छ ।

त्यस्तै, उद्योगले विगत वर्षहरूमा विराटनगर जुट मिलमा गरेको ऋण लगानीमा अघिल्लो वर्षसम्म ११ करोड ६६ लाख रुपैयाँ व्यवस्था गरेको थियो । उक्त रकमलाई यस वर्ष अपलेखन फिर्ता गरी आम्दानी लेखाङ्कन गरेको छ ।

त्यस्तै, उद्योगले विराटनगर जुट मिललाई २०७४/७५ देखि दिएको ऋणको ब्याज ११ करोड ७९ लाख रुपैयाँ आम्दानीमा लेखाङ्कन गरेको छ ।

यसरी कुनै वर्ष ऋण लगानी बापत व्यवस्था गर्ने र पछिल्ला वर्षहरूमा आवश्यक पुष्टाई र प्रमाण बेगर अपलेखन गरि फिर्ता गर्ने एवं सोअनुसार ब्याज आय लेखाङ्कन गरेको औचित्यपूर्ण नदेखिएको महालेखाले उल्लेख गरेको छ ।

बिक्री लागत उद्योगले विगत वर्षमा कोल मिलले नपिसेको कारण प्रयोग नहुने उल्लेख गरी २ हजार ९६७ मेट्रिक टन कोइला यस वर्षको शुरु मौज्दातबाट घटाएको छ ।

सामाग्रीको मूल्य प्रति मेट्रिक टन १८ हजार ३६४ को दरले ५ करोड ४४ लाख ८६ हजार रुपैयाँले हुन आउने रकम प्रयोग नहुने सामग्री उल्लेख गरी सम्बन्धित वर्षमा नै खर्च लेखी बिक्री लागतमा समावेश गरेर मूल्य निर्धारण गरनुपर्ने उल्लेख छ ।


क्लिकमान्डु