पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले एकै वर्ष गर्‍यो साढे ३ अर्ब आम्दानी, करिब १३ अर्ब ऋणको रेटिङ



काठमाडौं । पूर्वशहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले एकै वर्ष साढे ३ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ५ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको आम्दानी २ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२० मा ३ अर्ब ५५ करोड ४९ लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३३ करोड रुपैयाँ र सन् २०१८ मा ३ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् १९७६ देखि निरन्तर निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीले चार दशक पार गरिसकेको छ । कन्स्ट्रक्सनले विकास निर्माण जस्तै, पुल, सडक, जलविद्युत, सिँचाई र खानेपानी आयोजना, भवन निर्माण तथा स्यानिटेशन आयोजनालगायत अन्य क्षेत्रमा काम गर्दै आएको छ ।

विक्रम पाण्डेको ४९.९८ प्रतिशत र पार्वती पाण्डेको ४९.९८ प्रतिशत हिस्सा रहेको कालिका कन्स्ट्रक्सनमा अन्य चारवटा कम्पनीको ०.०४ प्रतिशतका दरले स्वामित्व छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १२ अर्ब ७७ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । ‘क’ वर्गको निर्माण स्थापित कम्पनीसँग अझै २२ अर्ब रुपैयाँ बराबरको ठेक्का रहेको छ । २२ अर्बको ठेक्का लागेको काम बाँकी रहेको कम्पनीले अझै ३५ अर्ब बराबरको ठेक्का लिन सक्ने क्षमता रहेको उल्लेख छ ।

सन् २०२३ को मार्चसम्ममा ठेक्का लागेका आयोजनाको ७९ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु