गोल्छा समूहद्वारा सञ्चालित हुलास स्टिलले एकैवर्षमा गर्‍यो साढे १५ अर्बको व्यापार



काठमाडौं । गोल्छा समूहद्वारा सञ्चालित हुलास स्टिल इन्डष्ट्रिजले एकै वर्ष साढे १५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२० मा ६ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ६७ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८१ मा स्थापना भएको कम्पनीमा चार्नले डेभलेपमेन्ट कम्पनीको ५० प्रतिशत हिस्सा छ । त्यसबाहेक कम्पनीमा गोल्छा समूहका सदस्य जयश्री गोल्छाको २१ प्रतिशत, हिमांशु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटलको ६ प्रतिशत तथा अन्यको स्वामित्व छ ।

कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी बिक्री गर्दै आएको छ । कम्पनीले स्टिल सिट्स, पाइपलगायतका विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी एचआर स्टिल सिट्स कच्चा पदार्थ आयात गरी स्टिलजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीले जिन्क, आल्मुनियम र सीआर सिट्स पनि आयात गर्दै आएको छ । वार्षिक ४ लाख ८१ हजार ७६२ टन स्टिलजन्य सामग्री उत्पादन गर्ने कम्पनीको क्षमता छ । कम्पनीले वार्षिक ५० हजार टन पाइप र ३ लाख ९४ हजार ७ सय टन सिट्ससहित आल्मुनियम स्ट्रक्चर, वेल्डेड स्ट्रक्चर, पाइप फिटिङ आदि उत्पादन गर्दै आएको छ । उक्त सामग्रीमध्ये ९२ प्रतिशत हिस्सा पाइप र सिट्सको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीका अनुसार सन् २०२२ मा आम्दानी गरेकोमध्ये ७१ प्रतिशत हिस्सा सिट्स र ११ प्रतिशत पाइपबाट भएको छ । कम्पनीले ‘हुलास’ ब्रान्डमा उत्पादित सामग्री बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु