गार्मेन्टको माग बढ्दा बाबा इन्टरप्राइजेजले एकै वर्षमा गर्‍यो १ अर्बको व्यापार



काठमाडौं । बजारमा गार्मेन्टको माग बढ्दा बाबा इन्टरप्राइजेजले एकै वर्षमा १ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ७६ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ३३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९९४ देखि गार्मेन्ट र टेक्स्टायलजस्ता वस्तुको व्यापार गर्दै आएको कम्पनीको व्यापार सन् २०२२ मा ३७ प्रतिशतले बढेको छ ।

कम्पनीले विशेषगरी आयतित गार्मेन्टको व्यापार गर्दै आएको छ । कम्पनीले ९८ प्रतिशत गार्मेन्ट चीन, कोरिया, ताइवान, बंगलादेश र भारतबाट आयात गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ ।

कम्पनीका अनुसार सन् २०२२ मा अधिकांश वस्तुको मूल्य बढ्दा नाफामा भने प्रभाव परेको छ । नविन खेतान अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ५६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले ए फोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०२२ मा १ अर्ब बढीको व्यापार गर्दा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा ८० लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ को ८ महिनामा ७६ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

नेपालमा कोभिडपछि रेडिमेड गार्मेन्ट उत्पादन ह्वात्तै बढेको छ । साथै, बजारमा स्वदेशी कम्पनीले उत्पादन गरेको गुणस्तर र फेसनेबल गार्मेन्टको माग बढ्दै गएको छ । नेपालले भारत र चीनबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा गार्मेन्ट उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु