नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषदमा प्रस्ताव लगिने



काठमाडौं । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ ।

सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तत्काल समस्या हल गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरोकारवाला निकायसँग गरेको छलफलमा उक्त निर्णय भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यसैगरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेस गर्ने व्यवस्था मिलाउनेसमेत बैठकमा निर्णय भएको छ ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग र यात्रीका पदाधिकारीको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादित हुने वस्तु तथा सेवालाई सहज रुपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न निर्देशन दिएका थिए ।


क्लिकमान्डु