मेरियट होटलले एकै वर्ष गर्‍यो १ अर्ब बढीको आम्दानी, पर्यटकको आगमन बढ्दा व्यापारमा उछाल



काठमाडौं । काठमाडौं नक्सालमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडद्वारा सञ्चालित ‘मेरियट’ होटलले एकै वर्ष १ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । १.३५ हेक्टर क्षेत्रफलमा फैलिएका पाँच तारे होटलले सन् २०२२ मा १ अर्ब २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा २९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा ८३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । होटलमा २१४ वटा कोठा छन् ।

एमएस ग्रुप अफ कम्पनीजले चेन होटलको रुपमा सञ्चालनमा ल्याएको होटलले सन् २०२२ मा १ अर्ब बढी आम्दानी गर्दा कोठाको लजिङ र सर्भिसको हिस्सा ५२ प्रतिशत रहेको छ । त्यसबाहेक ४१ प्रतिशत मिटिङ, कन्फरेन्स, एक्जिभिसजन र इन्सेन्टिभ्सजस्ता कार्यक्रम हुँदा खाना र पेय पदार्थबाट ४१ प्रतिशत व्यापार गरेको उल्लेख छ ।

कम्पनीले सन् २०२२ मा २४३ प्रतिशतले व्यापार बढेको जनाएको छ । साथै, होटलको कोठाको मूल्य ४९ प्रतिशतले बढ्दा आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ ।

सन् २०२१ मा कम्पनीको एक दिन होटलमा बसोबास गर्दा प्रति कोठाको औसत मूल्य ९ हजार ५ सय ९ रुपैयाँ थियो । तर, सन् २०२२ मा आइपुग्दा सोही कोठाको मूल्य १३ हजार १९० पुगेको कम्पनीको भनाइ छ ।

कोभिडपछि पर्यटक बढ्दा व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ । सन् २०२२ मा होटलले ४१ प्रतिशत नाफा कमाएको छ । जबकी सन् २०२१ मा कम्पनीले ११.३७ प्रतिशतले नाफा कमाएको थियो ।

त्यसैगरी, सन् २०२३ को ६ महिनाको अवधिमा अकुपेन्सी रेट ६८ प्रतिशतले बढेको छ । कम्पनीको अकुपेन्सी रेट सन् २०२२ को ६ महिनाको अवधिमा ३६ प्रतिशत रहेकोमा सन् २०२३ मा बढेर ६८ प्रतिशत पुगेको छ । साथै, कम्पनीले सो अवधिमा ७४ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले पर्यटकहरुका लागि क्यासिनो पनि व्यवस्था गरेको छ । सोही क्यासिनोबाट आम्दानी हुँदा बढी व्यापारमा टेवा पुगेको कम्पनीको भनाइ छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरी नेपालमा भित्रिएको इन्टरनेशनल ब्रान्ड मरियट होटल अमेरिकी कम्पनी हो ।

कम्पनीले विश्वभर होटलका फ्रेन्चाइज बिक्री गर्दै आएको छ । जसमा कम्पनीले लजिङ, होटल, आवासिय र टायमशेयर प्रोपर्टीको व्यापार गर्दै आएको छ । विश्वका १३९ वटा देशमा ३० वटा ब्रान्डको ८ हजार बढी प्रोपर्टीमा १४ लाख २३ हजार ४४ कोठा छन् ।


क्लिकमान्डु