सिमेन्ट निर्यातमा उच्च वृद्धि, ९ महिनामा ४२ करोडको निकासी
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा ४२ करोडभन्दा बढी मूल्यको सिमेन्ट निर्यात भएको छ । आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट भारत निकासी भएको हो ।
चैतसम्ममा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको भन्सार विभागले जनाएको छ । फागुनसम्ममा ३० करोड ५५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । एकै महिनामा १२ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।
फागुनमा पनि १३ करोड ८५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । चालू आवको माघसम्ममा जम्मा १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । पछिल्ला दुई महिनामै २५ करोडभन्दा बढीको निर्यात भइसकेको छ ।
समीक्षा अवधिमा २३ करोड ७२ लाखबराबरको क्लिंकर र १८ करोड ५९ लाखबराबरको सिमेन्ट निर्यात भएको छ । नौ अवधिमा २ लाख ७२ हजार ३ सय २८ टन क्लिंकर र १ लाख ९२ हजार १ टन सिमेन्ट निर्यात भएको छ ।
आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट गत वर्षको असारदेखि भारत निर्यात हुन थालेको हो । तानसेन सिमेन्ट निर्यात हुन थालेपछि सिमेन्ट उद्योगमा बेग्लै माहोल सिर्जना भएको छ ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्ड र आरएमसी ब्रान्डकै सिमेन्ट भारत निर्यात हुँदै आएको थियो । तर, भारतबाटै क्लिंकर आयात गरेर उत्पादन गरेको सिमेन्ट निकासीबाट लाभ लिन नसकेपछि निर्यात प्राथमिकतामा पर्न सकेको थिएन ।
केही उद्योगले निर्यात गरे पनि निर्यातको हिस्सा निकै सानो थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो । नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत पनि कम पर्न थालेको छ । त्यसपछि असारमै तानसेनले निर्यात थाल्यो । गत वर्ष नै निर्यात परिणाम केही बढेको थियो ।
अघिल्लो वर्ष ८३ हजार रुपैयाँको सिमेन्ट निर्यात भएकोमा गत वर्ष १२ लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो । अहिले देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । सरकारीले पुँजीगत बजेट खर्च गर्न नसक्दा र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा आन्तरिक खपत निकै नै न्यून छ । कतिपय उद्योग सिमेन्टको माग कम भएर उत्पादन कटौती गर्नुपर्ने अवस्थामा छन् ।
सरकारले कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै चालू आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।
निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् भने केही उद्योग लिने प्रक्रियामा छन् ।
सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड टनभन्दा धेरै छ । पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम, सौर्यलगायतका सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।