एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित



काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले ओमनविरुद्ध सानदार जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको ओमनले ४६.३ ओभरमा अलआउट हुँदै २२६ रन मात्र जोडेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको १०८ रनको शतकीय पारीसँगै ३१० रनको स्कोर बनाएका थिए । सुरुवाती चार ओभरमा २ विकेट गुमाउँदा नेपालको रन शून्य थियो । दुवै ओपनर कुशल भुर्तेल र आशिफ सेफ गोल्डेन डक आउट भएपछि नेपालको इनिङ्स केही धर्मराएको थियो ।

तर, भीम सार्की र कप्तान रोहित पौडेलले नेपालको इनिङ्स केही सम्हाले । रोहित २३ तथा भीम ३३ रनमा आउट हुँदा नेपालले जम्मा ७२ रन जोडेको थियो । त्यसपछि आरिफ शेख २९ रनमा आउट हुँदा नेपाल १४७ रनमा खेलिरहेको थियो ।

कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १० छक्का र ९ चौकाको सहयोगमा ६४ बलमा १०८ रन बनाएपछि नेपाल उच्च स्कोर बनाउन सफल भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो नै उच्च स्कोर हो ।

सोमपाल कामीले पनि राम्रो प्रदर्शन गरे । उनले ४८ बलमा ६३ रन जोड्दा करण केसीले १५ बलमा २९ रन बनाए । आजको खेलबाट लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी एक विकेट लिँदा सन्दीपले कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमै १०० विकेट लिएका छन् । यसअघि एकदिवसीयमा छिटो सय विकेट जोड्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान थिए । उनले ४४ खेलमा सय विकेट बनाएका थिए ।

त्रिवि मैदानमा ३११ रनको लक्ष्य पछ्याएको ओमनले सुरुवाती राम्रो खेले पनि पछि जम्न सकेन । ओमनका लागि मोहम्मद नादिमले सर्वाधिक ६५ रन जोडे भने सन्दीप गौडले ४६ रन बनाए । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए ।

जारी प्रतियोगितामा दुवै खेलमा दुवै जित निकालेको नेपाल ४ अंकसहित समूह चरणको शीर्ष स्थानमा छ ।


क्लिकमान्डु