एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान



काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी एक विकेट लिँदा सन्दीपले कीर्तिमान बनाएका हुन् ।

सन्दीपले ४२ खेलमै १०० विकेट लिएका छन् । यसअघि एकदिवसीयमा छिटो सय विकेट जोड्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान थिए । उनले ४४ खेलमा सय विकेट बनाएका थिए ।

नेपाल र ओमानबीच खेल जारी छ । २२ ओभर खेल सकिँदा सन्दीपले ३ विकेट लिइरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन जोडे । ६४ बलको सामना गर्दा उनले १० छक्का र ९ चौकाको सहयोगमा विशाल स्कोर तयार गरेका हुन् । एकदिवसीयमा उनको यो पहिलो शतक हो ।

त्यस्तै सोमपाल कामीले अविजित ४८ बलमा ६३ रन बनाए भने करण केसीले पनि अविजित १५ बलमा २९ रन जोडे । अन्तर्राष्ट्रिय एक दिवसीयमा नेपालले जोडेको ३१० रन हालसम्मकै उच्च स्कोर हो ।


क्लिकमान्डु