रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार, मन्त्रिपरिषदको निर्णय आवश्यक



काठमाडौं । नेपालमा लामो समयदेखि मलको अभाव झेलिरहेका बेला मित्रराष्ट्र रुसले नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउने भएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंगको भेटमा रुसका उप–प्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अबस्थामा जिटुजी मार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताए । त्यसका लागि नेपालले मन्त्रिपरिषदबाट निर्णय गरेर प्रकृया अगाडि बढाउन उनले आग्रह गरे ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्दृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

‘दिमित्री चेर्निसेन्को र गणेशप्रसाद तिमिल्सिनाले नेपाललाई खाद्यान्न, रासायनिक मल, रुसी हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने अवसर र चेस प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने विषयमा पनि छलफल भएको छ’, समाचारमा उल्लेख छ ।

‘तपाईको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ। नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, हाम्रा जनताबीच मित्रताको बलियो सम्बन्ध छ। रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ। सँधै समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ, “चेर्निसेन्कोले उपप्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेको छ ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पुर्वाधार बिकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पुर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने बिश्वास ब्यक्त गरे ।


क्लिकमान्डु