‘निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न मिल्दैन’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिएका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने बताए ।

अध्यक्ष ढकालले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेसो संशोधन विधेयकमा भएको बैंक वित्तीय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन् ।

सोही कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्तिमात्रै अख्यिारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताए । यो व्यवस्था संसोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण विग्रिने उनले बताए ।

नेपाली कांग्रेसका नेता एवं पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बढुले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने बताए । उनले यो व्यवस्था संशोधनका लागि पार्टिले पहल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, बीरबहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संसोधन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरुले नेपाली कांग्रेस निजी क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने नीतिमा विश्वास राख्ने दल भएकाले यसको संशोधन आवश्यक रहेको बताए ।

कार्यक्रमका संयोजक एवं नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यसबारेको संशोधन व्यक्तिगत वा सामुहिक रुपमा हाल्न सकिने बताए ।


क्लिकमान्डु